बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता जारी

सचिवालयका केही निर्णयहरु पार्टी नेताहरुकै बीचमा विवादमा पर्न थालेपछि दुई अध्यक्ष बिच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०७६, १० : २६
बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता जारी

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षका बीचमा बिहान साढे ९ बजबाट भेटवार्ता शुरु भएको हो । पार्टीको शनिबारको सचिवालयका केही निर्णयहरु पार्टी नेताहरुकै बीचमा विवादमा पर्न थालेपछि दुई अध्यक्ष बिच भेटवार्ता भएको हो । 

वार्तामा संविधान संसोधन गृहकार्यका लागि कार्यदल गठन गर्ने र प्रदेश २ का अध्यक्ष प्रभु सााहलाई नेताहरुको सार्वजनिक आलोचना गरेको विषयमा सोधिएको स्पष्टिकरणका विषयमा नेकपाभित्र विवाद देखिएको छ ।

नेकपाले संविधान संसोधन गृहकार्यका लागि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य राखेर कार्यदल बनाईएको थियो । 

उपाध्यक्ष वामदेव गौतमको माग अनुसार राष्ट्रिय सभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन, मधेसी दलले उठाउँदै आएका संविधान संसोधनका विषय र राष्ट्रिय सभा सदस्यको संख्या नै बढाउने गरी आएको प्रस्ताव सम्ममा छलफल हुन सक्ने बताईएको छ ।

ललिता निवास प्रकरणमा पार्टीका वरिष्ठ नेताहरु नै मुछिएको र भ्रष्टाचारीलाई जोगाउन नहुने भनी प्रदेश २ का अध्यक्ष साहले फेसबुकमा कारवाहीको माग गरेपछि उनलाई सचिवालयले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यो विषयमा साहले भने आपत्ती जनाईरहेका छन् । त्यस्तै पार्टीका अभियान तयारीका भेलाका लागि आज गण्डकी प्रदेशमा हुन लागेको भेला तयारीका विषयमा पनि दुई अध्यक्षका बीचमा छलफल हुन सक्ने बताईएको छ ।