‘चुनाव हारेकोलाई प्रधानमन्त्री, मन्त्री बनाउन संविधान संशोधन गर्नु लोकतन्त्रको हत्या’

पत्रपत्रिकाबाट

सोमबार, १२ फागुन २०७६, ०७ : ०३
‘चुनाव हारेकोलाई प्रधानमन्त्री, मन्त्री बनाउन संविधान संशोधन गर्नु लोकतन्त्रको हत्या’

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावमा पराजित भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने उद्देश्यले संविधान संशोधन गरे लोकतन्त्रको हत्या हुने बताएका छन् । सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधन कार्यदल गठन गरेको सार्वजनिक भएपछि भट्टराईको उक्त प्रतिक्रिया आएको हो।

नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी कमिटी सदस्य तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो। संविधानमा प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहेको छ।

सत्तारुढ नेकपाको उक्त कार्य विनाशकालमा उब्जिएको विपरीत बुद्धि भएको व्याख्या प्रतिनिधि सभा सदस्यसमेत रहेका भट्टराईले गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'विनाशकाले विपरीत बुद्धि ! निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उपहास मात्र नभइ वस्तुत: त्यसको हत्या हो।'

नेकपाका नेताहरूलाई भट्टराईले चुनौती दिँदै अगाडि लेखेका छन्, 'दुई तिहाइको दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर।'
कांग्रेस प्रवक्ताको प्रश्न- व्यक्तिको अनुहार हेरेर संविधान संशोधन?
नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने तयारी गरेको छ। राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छैन। उक्त व्यवस्था परिवर्तन गरे मात्र आफू राष्ट्रिय सभामा जाने अडान गौतमले राख्दै आएका छन्। गौतमले आफूले सबै पद पाइसकेको र प्रधानमन्त्री मात्रै बन्न बाँकी रहेको भन्ने सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका छन्।

उनले आफू प्रधानमन्त्री बन्नका लागि नै संसद प्रवेश गर्ने नत्र पार्टीको काममा लाग्ने बताउने गरेका थिए। तर, नेकपाका शीर्ष नेताहरूले भने वामदेव गौतमका लागि नै संविधान संशोधन गर्न खोजेको आशंका प्रमुख प्रतिपक्षी कांग्रेसले गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'मधेसले माग्यो संविधान संशोधन, भनियो- हुन्न l जनजातिले मागे हुन्न भनियो l दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो l

तर, आज कोहि एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी?' प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उनले प्रश्न गरेका छन्, 'गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरू?' संविधान संशोधनका लागि समाजवादी पार्टी र राजपाले बारम्बार माग गर्दै आएका थिए। सरकार, संसद र सडकमा आन्दोलनसमेत गरेका यी दुई पार्टीको मागमा प्रधानमन्त्री ओलीले 'आवश्यकता र औचित्यका आधारमा उपयुक्त समयमा संविधान संशोधन' हुन्छ भन्दै आएका थिए।

तर, एकाएक संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि सरकार र नेकपा नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ। वामदेव गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्यका रूपमा संघीय संसदमा लैजाने नेकपाभित्र तयारी भइरहेको छ। अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल फागुन २० गते सकिँदैछ।

प्रतिक्रिया दिनुहोस