सम्पत्ती विवरणमा बाँस्कोटाको सम्पत्ती ४ कोठे घर, १५ लाख ऋण ! मन्त्री छँदा अकुत कमाउन १ खर्बको योजना आफु अनुकुल

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, ०८ : ३१
सम्पत्ती विवरणमा बाँस्कोटाको सम्पत्ती ४ कोठे घर, १५ लाख ऋण !   मन्त्री छँदा अकुत कमाउन १ खर्बको योजना आफु अनुकुल

काठमाडौँ । करोडौँको कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्पत्ति कति होला ? धेरैलाई उनको सम्पत्ति विवरणबारे जान्न मन होला । धेरैलाई लाग्न सक्छ उनी सम्पन्न परिवारमा जन्मिए र सम्पन्न आर्थिक हैसियत छ । यदि तपाईँले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत हुनेछ । उनले मन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणलाई हेर्ने हो भने उनको आर्थिक हैसियत सामान्य नै देखिन्छ ।

सम्पत्तिको नाममा भक्तपुरमा ४ कोठे घर, काभ्रेमा केही जग्गा, सहकारीमा सेयर र केही नगद देखिन्छ । यस्तै १५ लाख रुपैयाँ ऋण समेत देखिन्छ । उनै गोकुल बाँस्कोटा नेपालमै स्थापना गर्नेगरी रेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एक नेपाली एजेन्टसँग कमिसनको डिल गरेको आरोपमा मन्त्री पद छोड्न बाध्य भए ।

तत्कालिन एमाले निकट पत्रिकामा लामो समय आवद्ध भएका उनी पत्रकारिता हुँदै राजनीतिमा छलाङ मारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र उनी ओलीकै आशिर्वादमा सांसदको टिकट पाएर सांसद हुँदै मन्त्री सम्म बन्न सफल भएका हुन्  । राज्यमन्त्रीबाट ओली सरकारमा प्रवेश पाएका उनी त्यसको १४ महिनापछि मन्त्री बन्न सफल भएका थिए । यसो त केही अघि उनले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका थिए ।

बाँस्कोटाको सम्पत्ति विवरण
उनले मन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको आर्थिक विवरणअनुसार उनको तारादेवी बास्कोटा (मानन्धर) को नाममा भक्तपुरको मध्यपुर ठिमीमा जग्गा र त्यही जग्गामा ४ कोठे एक तले घर रहेको छ । जुन पैत्रिक सम्पत्ति बेच्दा प्राप्त भएको रकम र स्वआर्जनबाट जोडेका हुन् ।
यसबाहेक उनको काभ्रेमा पाखोबारीसहितको जग्गा रहेको छ । काभ्रेको बनेपामा ३ लाखमा ४ आना जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै तारादेवीको नामा काभ्रेको देवभूमिमा २ रोपनी पाखोबारी रहेको छ भने बुबा हरिप्रसाद बाँस्कोटाको नाममा नयाँ गाउँदेउपुरमा पैत्रिक सम्पत्ति रहेको छ । यस्तै सम्पत्ती विरणमा १७ तोला सुन र ६० तोला चाँदी रहेको उल्लेख छ । यस्तै ब्राइट बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा ९९ हजार ९४१ रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा १ लाख ९ हजार ९४३ रुपैयाँ, तारादेवीको नाममा एक सहकारीमा ३ लाख ३८ हजार ३२६ रुपैयाँ र कुमारी बैंकमा ११ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसबाहेक समिर बाँस्कोटाको नाममा नबिल बैंकमा १५ लाख र शुलभ बाँस्कोटाको नाममा इन्भेस्टमेन्ट बैंकमा १६ हजार १०० रुपैयाँ रहेको उल्लेख छ । त्यसमा पनि छोरा समिरलाई विदेश पठाउनको लागि १५ लाख कुवेर सापकोटाबाट र विष्णु खनालसँग १५ लाख ऋण लिएको बाँस्कोटाको भनाइ छ ।  यस्तै प्राइम बचत तथा ऋण सहकारीमा गोकुलकै नाममा १ हजार कित्ता सेयर रहेको देखिएको छ ।

सवारी साधन केहीपनि नरहेको, कृषिधन तथा पशुधन केही पनि नभएको र घरमा सामसुङको टिभी रहेको बताएका छन् । आइफोन एउटा र ल्यापटप ३ वटा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
रोचक त के छ, भने उनले सामसुङको आइफोन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा सामसुङको आइफोन बताएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यमिश्रित टिकाटिप्पणी समेत भएका थिए ।

आर्थिक हैसियत उकास्न मन्त्री छँदा के के योजनामा थिए त बाँस्कोटा ?
सामान्य आर्थिक हैसियत भएका निवर्तमान मन्त्री बाँस्कोटाले आर्थिक हैसियत उकास्न मन्त्री छँदा १ खर्ब बराबरका सात योजना कमिसन खानकै लागि आफु अनुकुल हुने गरि तयार पारेर थिए । त्यस मध्ये कतिपय योजना त कमिसन नमिले पछि  ठेक्का समेत उनले तोडेका थिए ।

उनले आफु अनुकुल राम्रै कमिसन पाउने योजनाहरुमा प्राविधिक कमिटीको सुझाब विपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना, फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का, देशभर अप्टिकल फाइबर बिच्छ्याउने १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्बको योजना, हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउन सात अर्बको योजना लगायत रहेका छन् ।

मन्त्री बाँस्कोटाले यि सबै योजनाबाट राम्रै कमिसन खाने गरि डिल गरेको श्रोत बताँउछ । प्रधानमन्त्री ओलीका निकटस्थ भएका कारण पनि उनले यी योजना आफु अनुकुल ल्याउदा कसैले केही बोल्न सकेका थिएनन् । सेक्युरिटी प्रिन्टिंग प्रेस राख्ने स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसनका लागि मोलमोलाइ भएको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका छन् ।

बाँस्कोटाले थप कमिसनका लागि  उक्त योजनामा एक अर्ब लागत बढाउनसमेत एजेन्ट मिश्रलाई सुझाएका थिए । बाँस्कोटाले कमिसन खाएरे अकुत कमाएको भन्दै संसदबाट छानबिन हुनुपर्ने आवाज उठेको छ । यता, अख्तियारले पनि उनीमाथि छानबिन थाल्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस