प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, राष्ट्रिय स्वाभिमान कमजोर पारिएको दाबी

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, १४ : २३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, राष्ट्रिय स्वाभिमान कमजोर पारिएको दाबी

काठमाडौँ । प्रधानमन्त्रीले संसदमा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको भनिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनले आपत्ति प्रकट गरेको छ। बारले उक्त अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा कडा टिप्पणी गर्दै गम्भीर आपत्तिजनक भएको जनाएको छ।

एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई असंयमित, गैरजिम्मेवार र राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याउने प्रकृतिको रहेको उल्लेख गरिएको छ। सो भनाइले नेपालको परम्परागत कूटनीतिक दृष्टिकोण र अन्तर्राष्ट्रिय स्तरमा स्थापित अडानलाई कमजोर बनाएको निष्कर्ष बारको रहेको छ।

महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपालको भूमि सम्बन्धी विषय कुनै पनि हालतमा त्याग गर्न नसकिने स्पष्ट धारणा व्यक्त गरिएको छ। सीमा विवादलाई ऐतिहासिक प्रमाण, नक्सा, सन्धि-सम्झौता तथा प्राविधिक अध्ययनका आधारमा मात्रै समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

बारले खेतीपातीका क्रममा हुने प्राकृतिक परिवर्तन वा नदीको धार फेरबदलजस्ता प्राविधिक विषयलाई राज्यस्तरीय सीमा अतिक्रमणसँग तुलना गर्नु उपयुक्त नहुने बताउँदै प्रधानमन्त्रीको कूटनीतिक समझमाथि समेत प्रश्न उठाएको छ।

साथै, आगामी दिनमा सरकारलाई राष्ट्रिय हित, सीमा सुरक्षा र भौगोलिक अखण्डतासम्बन्धी विषयमा थप जिम्मेवार, स्पष्ट र संवेदनशील रूपमा प्रस्तुत हुन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस