सेना दिवस : ‘फ्रि­फल जम्प’मा डरायो सेना

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, ०१ : १३
सेना दिवस : ‘फ्रि­फल जम्प’मा डरायो सेना

काठमाडौँ । महाशिवरात्री तथा सेना दिवसको अबसरमा हरेक वर्ष नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलमा फ्रिफल जम्प प्रदर्शन गर्दथ्यो । सेनाको हेलिकप्टरबार सैनिक जवानहरु प्यारासुटको सहायतमा टुंडिखेलमा झर्थे । तर सधैँ हुँदै आएको उक्त कार्यक्रम भने यसपाली सेनाले हटाएको छ ।

गतवर्ष यसैगरी झर्दा प्यारासुट नखुलेर एक सेनाका जवान गम्भिर घाइते भएपछि उक्त कार्यक्रम रोकिएको हो । तर नेपाली सेनाले भने मौसम खराबीका कारण उक्त कार्यक्रम स्थगित गरेको जनाएको छ । यद्यपि अन्य सैनिक कला भने प्रस्तुत गरिएको छ । नेपाली सेनाले आज युद्धकला र आफ्नो कौसल भने प्रदर्शन गरेको छ । सेना दिवस समेत परेको आजको दिनमा सैनिक मञ्च टुँडिखेलमा सेनाले आफ्नो गतिविधि प्रदर्शन गरेको हो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले प्रदर्शन गरेको थियो । भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदप्रति श्रद्धान्जली अर्पण गरेकी थिईन् । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।

सो क्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस–२०७६’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृतिसमेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो ।

सैनिक युद्धकला, शहरी इलाकामा ठूला र अग्ला भवनहरुमा हुने आगलागिको बेला फसेको व्यक्तिहरुलाई हेलिकप्टर उद्धार सम्बन्धी विशेष कला प्रदर्शन समेत भएको थियो । यस्तै मार्च पाष्ट, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस