‘अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ – मन्त्री पुन

शुक्रबार, ०९ फागुन २०७६, २० : ५७
‘अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ – मन्त्री पुन

विराटनगर । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ्मन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रो मत तथा हाम्रो मत अनलाईन’ को आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले हाम्रो मत पत्रिका आवाजविहीनहरुको आवाज बन्न सकोस् शुभकामना दिनुभयो ।

मन्त्री पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्न पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनःजनतामाझामा नै लाने सञ्चार माध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिनुभयो ।

मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चार माध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यम पनि समयअनुकुल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।  प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई  पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस् ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताउनभयो ।

नेपाली काँग्रेस प्रदेश नं–१ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यम जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्ने बोल्नुभयो । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका प्रशंसनीय छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको यो पत्रिकाले जनताको समस्यालाई उठान गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नंं–१ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राख्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र आयोजकका अध्यक्ष नवलप्रसाद उपाध्यायले हाम्रो मत पत्रिकाले सधँै नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गर्नुभयो ।
    
विस २०६१ वैशाख छ गते जनविद्रोह साप्ताहिकबाट शुरु भएको यो पत्रिका अहिले हाम्रो मतमा रुपान्तरण भएको र यसमा लामो समयदेखि योगदान पु¥याउनु भएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र रासस सञ्चालक समितिका सदस्य एवं जनविद्रोहका पूर्व समाचारदाता दयाराम दाहाललाई सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस