एजेन्सी । टोटनह्याम हट्सपरले प्रिमियर लिगको अन्तिम दिन एभर्टनलाई पराजित गर्दै इतिहासकै अपमानजनक रेलिगेसनको संकटबाट मुक्ति पाएको छ।
गएरातिको यो जितसँगै टोटनह्याम अर्को सिजनका लागि पनि शीर्ष डिभिजन (प्रिमियर लिग) मै सुरक्षित भएको छ भने वेस्ट ह्याम युनाइटेड रेलिगेसनमा पर्दै दोस्रो डिभिजनको च्याम्पियनसिपमा झरेको छ।
क्लब लगातार दोस्रो सिजन १७ औं स्थानमा रहनुलाई फुटबल विज्ञहरूले क्लबको ठूलो असफलता र लाजमर्दो नतिजाका रूपमा व्याख्या गरेका छन्। यो सिजन टोटनह्यामका लागि निकै अस्थिर रह्यो। क्लबले थोमस फ्रान्कलाई ८ महिनामा बर्खास्त गरेपछि इगोर ट्युडोरलाई जिम्मेवारी सुम्पेको थियो, तर उनी केवल ४४ दिनमै बाहिरिनु पर्यो।
अन्ततः रोबर्टो डी जर्बीलाई आपतकालीन समयमा प्रशिक्षक नियुक्त गरियो। डी जर्बीले टोलीलाई कोचिङ मात्र नभई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाउँदै उल्भ्स र एभर्टन जस्ता महत्त्वपूर्ण खेलमा जित दिलाएर क्लबलाई रेलिगेसनबाट बचाए।
टोटनह्याम रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका बेला उसको कट्टर प्रतिद्वन्द्वी आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि उचालेको छ। आर्सनलको जित र आफ्नो क्लबको दयनीय अवस्थाले टोटनह्यामका फ्यानहरूलाई थप चिन्तित बनाएको छ।
भव्य रंगशाला र च्याम्पियन्स लिगबाट प्राप्त करिब ७ करोड ४० लाख पाउन्ड आम्दानीका बाबजुद क्लब कसरी रेलिगेसनको संघारमा पुग्यो भन्नेबारे अब गम्भीर समीक्षा हुने देखिएको छ।
प्रशिक्षक डी जर्बीले अर्को सिजनका लागि अहिल्यैदेखि काम सुरु गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, 'हामीले अब एउटा शीर्ष टोली बनाउनुपर्नेछ। धेरै खेलाडी फेर्नु नपरे पनि केही उच्च स्तरका खेलाडीहरू ल्याउनु आवश्यक छ।'
यो सिजन जेम्स म्याडिसन र डेजान कुलुसेभस्की जस्ता मुख्य खेलाडीहरूको चोटले पनि टोलीलाई समस्यामा पारेको थियो। कप्तान क्रिस्टियन रोमेरो र मिकी भान डे भेन जस्ता खेलाडीहरू अर्को सिजन क्लबमै रहलान् या नरहलान भन्नेमा पनि अन्योल कायमै छ।
भान डे भेनले १७ औं स्थानमा सिजन अन्त्य गर्नु क्लबका लागि अस्वीकार्य भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ जेठ २०८३, ०८ : २०
लेखकबाट थप