नेतृत्वमा आएयता पहिलो पटक ओली अल्पमतमा

ओलीलाई झन् पछि झन् सकस

सफल खबर संवाददाता

सोमबार, ११ जेठ २०८३, ०८ : ५३
नेतृत्वमा आएयता पहिलो पटक ओली अल्पमतमा

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि विधान संशोधन गरेरै भएपनि केपी शर्मा ओली ६ महिना अगाडी मात्रै अध्यक्ष निर्वाचित भए । उनले दुई कार्यकाल कार्यकारी पद र ७० वर्षे उमेर हद हटाएरै भएपनि अध्यक्ष बने ।

उनी शक्तिमा रहँदासम्म उनी पार्टीमा जहिल्यै शक्तिशाली भईरहे । कांग्रेस–एमाले गठबन्धन सरकारको नेतृत्व गरिरहेकै बेला गत वर्ष भदौंको जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्रीको सरकारी निवासबाटै राजीनामा ठोकेर सेनाको हेलिकप्टर प्रयोग गरेर भाग्न पुगे । 

त्यसपछिको चुनावमा एमाले नराम्ररी खुम्चिएको छ । झण्डै– झण्डै मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको हैसियतमै आफुलाई राखेर पार्टीका सार्वजनिक पोष्टर, कार्यक्रमसम्ममा आफनो तस्विरसम्म ओलीले राख्न लगाएका थिए । तर, चुनावका बेला ओली गृहजिल्ला त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा मात्र सिमित हुन पुगे । उनलाई एमालेका कुनै पनि उम्मेदवारले आफनो निर्वाचन क्षेत्रमा बोलाएनन । उनी जता जान्छन्, उतै पार्टी र उम्मेदवारलाई घाटा हुन्छ भन्ने मनोविज्ञानले उनलाई आफ्नै पार्टीका उम्मेदवारले पत्याएनन । 

अखिर उनी स्वयम पनि काठमाडौंको मेयर छोडेर भिड्न आईपुगेका हालका प्रधानमन्त्री बालेन शाहसँग ठूलो मतान्तरमा पराजित हुन पुगे । पार्टीका कुनै पनि पदाधिकारीले चुनाव जित्न सकेनन । पार्टी समेत इतिहासकै सवैभन्दा कमजोर अवस्थामा आईपुग्यो । 
त्यसपछि हो ओलीको ओरालो दिन शुरु भएको । उनी

पार्टी नेतृत्वमा आएदेखि सधै बलियो रहँदै आएकोमा यसपटक तीन दिनसम्म चलेको एमाले सचिवालय बैठकमा उनी करिव एक्ला जस्तै देखिए । उनी अल्पमतमा परे । रामबहादुर थापा बादल र महेश बस्नेत बाहेक १९ सदस्यीय सचिवालयमा उनलाई प्रष्टसँग काँध थाप्ने कुनै नेता देखिएनन । लेखराज भट्ट र पद्मा अर्यालले मझधार समातेपनि उनीहरु पनि ओलीको कडा बचाउमा उत्रने अवस्था देखिदैन । 

यसले ओलीलाई कमजोर बनाईदिएको छ । एमालेको पार्टी नेतृत्वमा आएयता पहिलो पटक ओली निकै रक्षात्मक अवस्थामा पुगेका छन् । पार्टीभित्र लामो समयसम्म निर्विवाद शक्ति केन्द्र बनेका ओली अहिले भने आफ्नै निर्णय र शैलीमाथि तीव्र प्रश्न उठ्ने चरणमा पुगेका छन् । यसअघि ओलीको निर्णयमाथि खुलेर प्रश्न उठाउन डराउने नेताहरू अहिले बैठकमै प्रतिवाद गर्ने अवस्थामा पुगेका छन् । सचिवालय बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरूले ओलीको कार्यशैलीमाथि प्रत्यक्ष असन्तुष्टि जनाउनु त्यसैको संकेत मानिएको छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ओलीको चाहनाविपरीत पार्टी पुनर्गठन र नेतृत्व संरचनामाथि औपचारिक समीक्षा प्रक्रिया सुरु हुनु हो । उनको इच्छा विपरित नै अहिले अबको एक महिनापछि बस्ने एमाले केन्द्रीय कमिटि बैठकमा पार्टी नेतृत्व पूर्णगठन लगायतकै समग्र विषयमा नै समीक्षा हुने भएको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकमा नेतृत्व पुनर्गठनदेखि संगठनात्मक पुनर्संरचनासम्मका विषयमा व्यापक छलफल हुने भएको छ ।

त्यसका लागि कार्यदल नै बनार्यएको छ । ओलीलाई साथ दिएका उपाध्यक्ष रामबहादुर थापा (बादल)को नेतृत्वमा कार्यदल बनाइएको भएपनि त्यहाँ ओलीको पक्षमा थापालाई साथ दिने महेश बस्नेत बाहेक अन्य नेता हुने अवस्था देखिएको छैन । कार्यदलमा पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवालीसहित आठै प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन् । असार दोस्रो सातापछि डाकिने केन्द्रीय समिति बैठकअघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेस गर्नेछ ।

त्यसपछि मात्रै एमालेमा पुनर्गठनको मुद्दा कसरी टुंगिन्छ भन्ने प्रारम्भिक कोर्स सुरु हुनेछ । महासचिव शंकर पोखरेल र अध्यक्ष ओलीले आपसी सल्लाह गरेर १५ देखि २० असारभित्र केन्द्रीय कमिटी बैठक बोलाउने सचिवालयको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस