किन नेपाल आउँदैछन् चिनियाँ नेता झाओ पेङ ?

सफल खबर संवाददाता

सोमबार, ११ जेठ २०८३, ०९ : ४०
किन नेपाल आउँदैछन् चिनियाँ नेता झाओ पेङ ?

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारका उपाध्यक्ष झाओ पेङ आज काठमाडौं आउँदै छन् ।

मध्यान्ह्र उनी काठमाडौं आईपुग्ने कार्यतालिका छ । तीन दिने नेपाल भ्रमणको कार्यतालिका बोकेर उनी काठमाडौं आउन लागेका हुन् ।  पछिल्ला दुई वर्षमा नेपालसँग सम्बन्धित अधिकांश उच्चस्तरीय तिब्बत–केन्द्रित छलफलमा उनी प्रत्यक्ष सक्रिय देखिएका छन् ।

पाँच महिना अगाडी मात्रै (जनवरी २०२६ मा)  ल्हासामा भएको नेपाल–चीन सीमा व्यापार तथा सहकार्य संयन्त्रको तेस्रो बैठकमा उनले चिनियाँ टोलीको नेतृत्व गरेका थिए । उक्त बैठकमा सीमा व्यापार, केरुङ–रसुवागढी, पूर्वाधार, काठमाडौं–ल्हासा सम्पर्क लगायतका विषयमा छलफल भएको थियो ।

उनै झाओ पेङ नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार निर्माण भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । चीनले तिब्बत मामिलालाई लिएर नेपालको भू भागलाई समेत संवेदनशील मान्दै आईरहेको छ ।

नेपालबाट आफनो स्वशासित क्षेत्र तिब्बत मामिलालाई लिएर कुनै पनि प्रकारको गतिविधि हुन नदिन चीनले गम्भिर चासो देखाउँदै आईरहेको हुन्छ । नेपालका लागि झाओ पेङ कुनै ‘सामान्य प्रादेशिक अधिकारी’ मात्र होइनन् । तिब्बत चीनको संवेदनशील भू–राजनीतिक क्षेत्र भएकाले त्यहाँका वरिष्ठ अधिकारीहरू प्रत्यक्ष रूपमा बेइजिङको रणनीतिक सोचसँग जोडिएका हुन्छन् ।

नेपालसँग जोडिएका अधिकांश चिनियाँ परियोजनाहरू विशेषतः केरुङ नाका, ट्रान्स–हिमालयन नेटवर्क, ल्हासा–काठमाडौं सम्पर्क र सीमापार पूर्वाधार तिब्बत प्रशासनमार्फत नै कार्यान्वयन हुने भएकाले झाओ पेङ जस्ता अधिकारीको भूमिका अझ महत्वपूर्ण हुन्छ । अहिले चीनले नेपालसँग तीन तहमा सम्बन्ध बलियो बनाउन खोजिरहेको देखिन्छ । पहिलो, सीमा तथा व्यापारिक कनेक्टिभिटी, रसुवागढी–केरुङ, हिल्सा लगायत नाकालाई थप सक्रिय बनाउने चीनको चासो छ । 

दोस्रो, राजनीतिक–सुरक्षा समन्वयमा चीनले नेपाललाई एक चीन नीतिमा मा अझ कडाइका साथ उभिन चाहेको संकेत पछिल्ला घटनाले देखाउँछन् । तेस्रो, तिब्बत केन्द्रित संवेदनशीलताका सन्र्दभमा नेपालमा तिब्बती गतिविधि, धार्मिक कार्यक्रम र अन्तर्राष्ट्रिय नेटवर्कबारे चीन निकै संवेदनशील रहँदै आएको छ ।

त्यसैले पनि उनको नेपाल भ्रमणका विषयमा चीनले तिब्बतको मामिलामा पनि गम्भिर चासो देखाउन सक्ने सम्भाबना रहेको बताइन्छ । उनी १३ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस