काठमाडौँ । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भने, “धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ । आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ” उनले मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउने बताए ।
उनले भने, “भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ ।
जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ ।’ भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ ।
जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारीसमेत उनले दिए । नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ फागुन २०७६, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु
जनकपुरमा रेल र कार ठोक्कियाे
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो