‘सेनाभित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोग रहन्छ’

पत्रपत्रिकाबाट

सोमबार, ०५ फागुन २०७६, ०७ : १७
‘सेनाभित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोग रहन्छ’

file photo

काठमाडौँ । उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सेना भित्रको भ्रष्टाचार छानबिनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबारबाट सुरू भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’ को उद्घाटनमा  सेनाभित्रकाे भ्रष्टाचार नियन्त्रण कार्य तथा छानबिनमा रक्षा मन्त्रालयको पूर्ण साथ रहेको बताएका हुन् ।

कार्यक्रममा प्रधानसेनापति पूर्ण चन्द्र थापा, रक्षा सचिव रेग्मी राज पाण्डे, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थिति रहेको थियो। सैनिक मुख्यालयमै गएर बहालवाला रक्षा मन्त्रीले सेनामा आन्तरिक रुपमा भइरहेको भ्रष्टाचारनियन्त्रण कार्य तथा छानबिनको विषयमा सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैंठकले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो। क्षत्रीले अनियमितता गरेको सम्बन्धमा उजुरी परेपछि अध्ययन गर्न गठित कार्यदलको सुझावका आधारमा समितिले छानबिनका लागि सिफारिस गरेको थियो। समितिको बैठकले क्षत्रीमाथि भएको अनुसन्धान र त्यसको परिणामको विवरणबारे लिखित जानकारी गराउन अख्तियार र विभागलाई भनेको छ ।

उपप्रधान मन्त्री पोखरेलले सेनाले विशेष गरी नागरिकता र प्रमाण पत्रको छानबिन, भर्ना छनौटमा भएको अनियमिततामाथिको छानबिन र कारबाही, आर्थिक अपचलनका विषयमा भएका र भईरहेका छानबिन एवं नियमित अनुगमन जस्ता कार्यले सेनामा सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताए। उनले सैनिक अधिकृतहरु सामु अनावश्यक तथा अनाधिकृत चलखेल, भनसुन तथा प्रचारवाजीमा विश्वास नगर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस