मेक्सिको विश्वकपको नकआउटमा

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०८३, १० : ०९
मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ । सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

मेक्सिकोको जितमा दोस्रो हाफमा लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । घरेलु मैदान र दर्शकको उल्लेख्य साथ पाएको मेक्सिकोका लागि रोमोको उक्त प्रहार खेलको टर्निङ प्वाइन्ट साबित भयो ।

गोलपछि रोमो, उनको परिवार र रंगशालामा उपस्थित हजारौँ मेक्सिकन समर्थकले भव्य खुसीयाली मनाएका थिए ।

खेलभरि दक्षिण कोरियाले मेक्सिकोलाई कडा टक्कर दिए पनि गोल फर्काउन सकेन । खेलको अन्तिम समयतिर दक्षिण कोरियाले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि त्यो निकै ढिलो भइसकेको थियो र मेक्सिकोको रक्षापङ्क्ति तोड्न पर्याप्त रहेन ।

रेफ्रीको अन्तिम सिट्ठीसँगै लगातार दोस्रो जित निकाल्दै मेक्सिकोले समूह ‘ए’ बाट अघिल्लो चरणको टिकट पक्का गरेको हो । यो जितसँगै मेक्सिकोले आफू केवल आयोजकका रूपमा मात्र नभई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस