दाताहरु भन्दैछन्– “हाम्रो जग्गा फिर्ता देउ”

बुधबार, २९ माघ २०७६, १५ : ११
दाताहरु भन्दैछन्– “हाम्रो जग्गा फिर्ता देउ”

सांकेतिक तस्विर

– तारानाथ आचार्य 
बलेवा । आफ्नै दैलोअगाडि बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले वर्षभरि खानपुग्ने धान फल्ने खेत निःशुल्क उपलब्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ वर्ष पूरा भएको छ । बस पार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । तर अहिलेसम्म न बसपार्क बन्यो र नत जग्गा नै फिर्ता भयो ।  

उपल्लाचौरको दावगह्रामा जमिन रहेका ५१ जना मोहीले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिलाई उपलव्ध गराएका हुन् । बसपार्क सोही स्थानमा बनाउन लागिएको हो । विसं २०६० देखि २०७० को बीचमा ५१ जनाले जग्गा व्यवस्थापन समितिको नाममा आ–आफ्नो जग्गा उपलब्ध गराएको लिखत छ । नगरपालिकाले सुरुमा बसपार्कका लागि १० रोपनी जमिन खोजेको थियो । बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्दासम्म १७.५ रोपनी जमिन बसपार्कका लागि आवश्यक देखियो । सोही अनुसारको जमिन समितिले बसपार्कलाई उपलब्ध गराइसकेको छ । दावगह्रामा रहेको सबै जमिन एकिकृत गर्ने, बसपार्कलाई आवश्यक जमिन दिने र बाँकी जमिनको कित्ताकाट गरेर जग्गादाताहरुले लिने सहमति नगरपालिकाले जग्गा व्यवस्थापन समितिसँग गरेको थियो । 

बसपार्क बनाउन करोडौं मूल्य पर्ने जमिन निःशुल्क उपलब्ध गराएका बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्न वडा कार्यालयदेखि नगरपालिकासम्म धाएका छन् । ‘हातले दिएर खुट्टालाई दःुख भयो’ जग्गा धनी सुवास केसीले भन्नुभयो “दातालाई सम्मान गर्नु त कता हो कता यहाँ त अपमान नै धेरै भयो ।” त्यसैले अहिले जग्गादाताहरु भन्दैछन्– “हाम्रो जमिन फिर्ता देउ ।” 

उनीहरुले उपलब्ध गराएको जमिनमध्ये बसपार्कको आवश्यकता बाहेकको जमिन चक्लाबन्दी र कित्ताकाट गरेर उनीहरुलाई नै फिर्ता गर्ने सम्झौता यसअघि उक्त समितिले गरेको छ । जग्गा धनीले बाँकी जग्गा समयमा फिर्ता पाए आफ्नै तरिकाले लगानी गर्ने वातावरण बन्ने उनको भनाई छ । ‘बर्षौंदेखि आफ्नो जग्गा अर्कैका नाममा छ’ केसीले भने ‘न त उपयोग गर्न पाइएको छ र नत प्रतिफलको आश नै गर्न सकियो ।’ 

विसं २०७१ पुस २२ गते जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाबीच चार वर्षभित्र बसपार्क बनाइ सक्ने र बाँकी रहेको जमिन दातालाई फिर्ता गर्ने गरी १२ बुँदे सम्झौता पनि भयो । सम्झौताअनुसार बाँकी रहेको जमिनमा आवश्यक पूर्वाधार निर्माणको काम बागलुङ नगरपालिकाले गर्ने उल्लेख छ । बाँकी रहेको जग्गाभित्र आवश्यक पूर्वाधार विकासगरी सम्बन्धित जग्गा दाताहरुलाई फिर्ता गर्नुपर्ने भएकाले सो बाँकी जग्गा समेतमा एकीकृत गुरुयोजना बागलुङ नगरपालिकाले निर्माण गर्ने सम्झौता छ । उक्त सम्झौताको बुँदा नं २ मा भनिएको छ ‘गुरुयोजना बमोजिम नक्साङ्कन, बाटो, ढल, नाली तथा पानी र बिजुली जस्ता पूर्वाधार बागलुङ नगरपालिकाले निर्माण गर्ने सम्झौता गर्दछौं ।’ 

सहमति अनुसार जग्गा फिर्ताको काम सुरु नै नभएपछि जग्गादाताहरु तालुक निकायमा धाउन थालेका छन् । नगर विकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा एक वर्षभित्रै बसपार्क बनाउने गरी ठेकेदारसँग ठेक्का सम्झौता गरेको थियो । विसं २०७६ कात्तिकमा निर्माणको जिम्मा पाएको कम्पनीले काम नसकेपछि आगामी असार मसान्त सम्मको लागि म्याद थप भएको छ । 

बसपार्कको लागि समय थप भए पनि सोही बसपार्क बनाउन जग्गा दिने दाताका समस्या सम्बोधन नभएको जग्गादाता गुणनिधि शर्माले बताए । नगर विकास कोषको ऋण सहयोगमा निर्माण हुने बसपार्कका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । बसपार्क भन्दा बाहिरको बाँकी जमिनमा बन्ने संरचनाको काम भने नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

‘गत वर्ष आएको ४० लाखले हामीले जग्गा सम्याउने काम ग¥यौं, यो वर्ष छुट्टिएको पैसा रातो किताबमा आउँदा ऋण भुक्तानी भन्ने शिर्षकमा पुगेछ’ बागलुङ नगरपालिका वडा नं ४ का अध्यक्ष ध्रुव बहादुर केसीले भन्नुभयो ‘स्थानीय, प्रदेश र केन्द्र सरकार कसैको नजर पुगेको छैन, म एक्लै लडेर भएन ।’ बजेटको अभावका कारण बाँकी रहेको जमिनमा बन्ने भनिएका संरचना र कित्ताकाटको काम हुन नसक्दा जग्गाधनीले जग्गा फिर्ता नपाएका हुन् । 

‘डिपिआर अनुसार सबै काम सम्पन्न गर्न ३ करोड लाग्छ’ केसीले भने ‘सामान्य कित्ताकाट गरेर जग्गाधनी पुर्जा बनाउँदा खर्च मात्रै भए पनि मोहीका समस्या बिस्तारै समाधान हुन्थे ।’ बसपार्क निर्माणका लागि निर्माण कम्पनीले ७ करोड ६६ लाख ९९ हजार रुपैया“मा जिम्मेबारी लिएको छ । कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ समेत बनाइने छ । 

तत्कालीन समयको तुलनामा यहा“को जमिनको मूल्य आकासिएको छ । बसपार्कलाई जमिन दिएर बाँकी रहेको फिर्ता पाउने आशामा रहेका यहाँका उपभोक्ताले आफ्नै जमिनमा पाइला टेक्न नपाएको बर्षौं बितेको छ । “हाल यो स्थानको जग्गाको मूल्य करोडौं छ” बसपार्क उपभोक्ता समितिका सदस्य गुणनीधि शर्माले भन्नुभयो । “बसपार्क बनाएमा जिल्ला सदरमुकाम बागलुङ बजार र जिल्लावासी सबैलाई राम्रो हुने भएकोले जग्गा दिइयो तर फिर्ता आउने जग्गाको पत्तो नलागेपछि हामी भौँतारिहएका छौँ” जग्गाधनी भन्दैछन् । 

नगर विकास कोषले ९ करोड चार लाख रुपैया“ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । उक्त रकमका लागि नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह र नगरप्रमुख जनकराज पौडेले ऋण सम्झौता गरेका थिए । बा“की रकममध्ये नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख खर्च हुनेछ । बसपार्क निर्माणकै लागि केएफ डब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैया“ पनि ऋण सहयोग गर्नेछ । यसरी नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैया“ पुग्नेछ । बा“की ४० लाख रुपैया“ स्थानीय बासिन्दाको सङ्कलन हुने बताइएको छ । बसपार्क बाहेकका अन्य संरचनामा समेत लाखौँ खर्च हुने डिपिआरमा उल्लेख छ । 

बसपार्क बनेर बा“की रहेको जमिनमा जग्गादाताको लागि कम्तिमा साढे दुई देखि पा“च आना सम्मका एक सय २७ वटा घडेरी बनाइने योजना छ । नगरपालिकाले प्राप्त रकम नदिएका कारण सम्झौता अनुसार त्यहाँ बन्ने भनिएका संरचना बनेका छैनन् । बागलुङ नगरपालिकाले भने ऋणमा बनिरहेको बसपार्क र बाँकी बन्ने संरचनाको लागि एकै पटक स्रोत जुटाउन कठिन भइरहेको जनाएको छ । 

“यो बसपार्क नगरको मात्र नभएर सबैको दायित्वको विषय हो” बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भन्नुभयो । उहाँले केन्द्र र प्रदेश सरकारसँग पनि सहयोगका लागि पहल गरेको तर आश्वासन मात्र पाएको अनुभव उहाँले सुनाउनुभयो । आगामी आर्थिक वर्षमा केन्द्र र प्रदेशको सहयोगमा नभए नगरको स्रोत परिचलन गरेरै भएपनि जग्गादाताको समस्या समाधान गर्ने पौडेलले बताउनुभयो । यहाँ बसपार्क गण्डकी प्रदेशकै नमुना बसपार्कका रुपमा निर्माण हुने बताइएको छ । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त सवारी साधन राख्न नपुगेको कारण यो बसपार्क प्रस्ताव गरिएको हो । उक्त बसपार्क निर्माण भएमा लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गरिने योजना छ । 

मध्यपहाडी लोकमार्ग बागलुङ भएर गएपछि पनि यहाँ सवारी चाप निकै बढ्न थालेको छ । बागलुङ देखि छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी र मुस्ताङ तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दुरीका सवारीका लागि यो बसपार्क सञ्चालन गर्ने योजना छ । हाल काठमाडाँै, भैरहवा, चितवन, नेपालगञ्ज, काँकडभिट्टा, वीरगञ्ज लगायतका स्थानमा बागलुङ बजारबाट सवारी चल्दै आएका छन् । 

“यो बसपार्कमा बढीमा ७० वटा बस पार्किङ गर्न सकिन्छ, त्यसैले दीर्घकाल सम्मका लागि अझै सा“घुरो हुन्छ” ईन्जिनियर मनोज शर्मा बताउनुहुन्छ । लामो दुरी र छोटो दुरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुने उहाँको भनाई छ । करिब १५ वर्ष अघि धान र तरकारी खेतीगर्ने गरिएको जग्गा दिएका किसानले अब केही व्यवसाय गर्न पाउने उपभोक्ता समितिका सदस्य गुणनीधि शर्माले जानकारी दिनुभयो । 

‘निःशुल्क जग्गा दिएकाहरुले जीविकोपार्जन गर्न सक्ने तथा दमकल, एम्बुलेन्स जस्ता साधन निर्वाध रुपमा आवतजावत गर्नसक्ने समेत बनाउने व्यवस्था मिलाइएको निर्माण समितिको भनाई छ । बस पार्किङका अतिरिक्त टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्रयाक १७ रोपनीमा बनाइने योजना छ । 

बागलुङ बजारमा जमिनको सीमितताका कारण पार्किङको ठूलो समस्या छ । मेला महोत्सव हुन् या कुनै कार्यक्रम हुँदा यहाँ यही समस्याले सताउँछ । बाहिरबाट बजारमा आएका सवारी पनि भद्रगोल रुपमा यत्रतत्र पार्किङ गरिरहेको देखिन्छ । त्यसैले यो समस्याको समाधानका लागि प्रस्तावित यो बसपार्कको अहिलेलाई अर्काे विकल्प छैन । (रासस)