चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु

पत्रपत्रिकाबाट

शनिबार, १८ माघ २०७६, ०८ : ४६
चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम माग्दै आएका छन् ।

हालसम्म विराटनगरस्थित नोबेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । यस्तै, काठमाडौं मोडेल कलेजले ४ लाख ३५ हजार रुपैयाँ अतिरिक्त शुल्क मागेको अभिभावकले गुनासो गरेका छन् । यस्तै, नेपाल मेडिकल कलेजले अतिरिक्त ४ लाख ३५ हजार रुपैयाँ, नेपालगन्ज मेडिकल कलेजले ६ लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको अभिभावकको गुनासो छ । यस्तै, अभिभावकबाट विराट मेडिकल कलेजले पनि चार लाखसम्म अतिरिक्त शुल्क लिएको अभिभावकको भनाइ छ ।

ती कलेजले इन्टर्नसिप, सेक्युरिटी डिपोजिट, केयू रजिस्ट्रेसन, काउन्सिल रजिस्ट्रेसनबापत मनपरी शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए । मेडिकल कलेजले इन्टर्नसिपबापत २ लाख, सेक्युरिटी डिपोजिटबापत २ लाख, केयू रजिस्ट्रेसनबापत २० हजार र काउन्सिल रजिस्ट्रेसनबापत १५ हजार रुपैयाँसम्म लिएका छन् । कडरियाले भने, ‘सरकारले शुल्क मापदण्ड बनाइसके पनि कार्यान्वयन भएको छैन । अब आन्दोलनको विकल्प छैन ।’

चिकित्सा शिक्षा ऐनमा शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनुपर्छ र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कसमेत जनाउँछ ।

–चार लाखदेखि २८ लाखसम्म असुल्दै
–काठमाडौं मेडिकल कलेजलाई स्पष्टीकरण
–अतिरिक्त शुल्क सम्बन्धमा उजुरी दिन आयोगको आग्रह

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको उजुरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा परेपछि आयोगले कलेजसँग स्पष्टीकरण सोधेको छ । अतिरिक्त शुल्क लिनुको कारणसहित स्पष्टीकरण पेस गर्न आयोगले काठमाडौं मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

चिकित्साशास्त्र शुल्क निर्धारण समितिले उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको थियो ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो ।

कलेजको नाम अतिरिक्त शुल्क
नेपालगन्ज मेडिकल कलेज ६ लाख काठमाडौं मेडिकल कलेज ४ लाख ३५ हजार
नोबेल मेडिकल कलेज २८ लाख
नेपाल मेडिकल कलेज चार लाख ३५ हजार

यसैबीच, सरकारले तोकेको बाहेकका शीर्षकमा शुल्क लिन पाउँ भन्दै नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको प्रस्ताव चिकित्सा शिक्षा आयोगले फिर्ता पठाएको छ । केही दिनअघि प्रतिष्ठानले विद्यार्थीको बिमा, धरौटीलगायत शीर्षकमा विद्यार्थीसँग शुल्क लिन पाउनुपर्ने अनुरोध गरेको थियो ।

यस्तै, चिकित्सा शिक्षा संघर्ष समितिले तत्काल अतिरक्त शुल्क लिने विद्यार्थीलाई स्पष्टीकरण लिएर कारबाही गर्न माग गरेको छ । समितिले अतिरक्त शुल्क लिने कलेजलाई कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले तोकिएभन्दा बढी शुल्क लिनु गैरकानुनी भएको बताए । उनले भने, ‘कुनै पनि मेडिकल कलेजले अतिरिक्त शुल्क लिन मिल्दैन । यदि लिएको भए उजुरी दिन सकिन्छ हामी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस