आफ्नै ‘पार्टी दस्तावेज’ प्रति प्रधानमन्त्री ओलीकै असन्तुष्टि

चीनलाई ‘घेर्ने’ शब्दप्रति प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सल्लाहकार र प्रेस सल्लाहकार र सञ्चारमन्त्रीले एकैपटक पोखे असन्तुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, ०८ : ५६
आफ्नै ‘पार्टी दस्तावेज’ प्रति प्रधानमन्त्री ओलीकै असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठकमा छलफलमा रहेको पार्टीको राजनीतिक दस्तावेज नेकपाका जोर पाइलट प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त दस्तावेज हो । दस्तावेजमा दुवै अध्यक्षको नाम छ । दुवै अध्यक्षका तर्फबाट दस्तावेज कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेका थिए । दस्तावेजको अन्तराष्ट्रिय परिरिस्थतीका संकेत र हाम्रा दायित्व उपशिर्षकमा उल्लेखित केही विषयलाई लिएर प्रधानमन्त्रीको असन्तुष्टि देखिएको छ ।

पार्टी स्थायी समिति बैठकमा प्रस्तुत प्रतिवेदनमा ‘चिनले अगाडी सारेको बिआरआई र अमेरिकाले अगाडी सारेको इन्डो प्यासेफिक रणनीति आपसमा टकराईरहेका छन् । आफनो महाशक्तिको स्थिती कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफुलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको छ ।’ उल्लेख भएपछि नेताहरुवाट बिआरआई र आइपिएसलाई एकै दाँजोमा राखेको भन्दै आलोचना भएको थियो ।

तर त्यसलाई अहिले जारी स्थायी समिति बैठकमा प्रष्ट खुलाएर अध्यक्षद्वयको प्रतिवेदन आएको छ ।
अहिलेको प्रतिवेदनमा बिआरआई र इन्डो प्यासेफिकका विषयमा प्रष्ट धारणा आएको छ । प्रतिवेदनमा बिआरआई र आइपिएसका बारेमा चर्चा गदै प्रष्ट लेखिएको छ, –‘चीनले अघि सारेको बिआरआईले विश्वब्यापीरुपमा आफ्नो र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा बृहद साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ ।

नेपालले पनि बिआरआईमा हस्ताक्षर गरेर आफुलाई त्यो सम्बन्ध र सहयोग बिस्तारको साक्षेदार बनाएको छ । उता संयुक्त राज्य अमेरिकाले आफनो अति महाशक्तिको स्थिती कायम राख्न र विश्वमा आफनो एकछत्र प्रभुत्व बनाईराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्र्दभमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफनो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाँउदै गरेको चीनलाई घेराहाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासेफिक स्टाटेजी अगाडी बढिरहेको छ ।’ 

दस्तावेजमा इन्डो पयासेफिक स्टाटेजी (आइपिएस)ले चीन घेर्ने रणनीति उल्लेख भएपछि यस विषयमा प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । दस्तावेज अध्यक्ष प्रचण्डले लेखेको र ओलीको सहमति बिनै यो विषय सचिवालयमा नेताहरुको सहमतिमा ओलीको असहमति बिच पनि केन्द्रीय समितिमा आएको तथ्य खुलेको छ ।  चीन घेर्ने शब्द दस्तावेजवाट झिक्नका लागि अहिले ओली पक्षले त्यसमा तयारी गरेरै विरोधमा आएको छ ।

केन्द्रीय समिति बैठक शुरु भएकै दिन प्रधानमन्त्रीले आफु निकट केही नेताहरुलाई बालुवाटार बोलाई सरकारको प्रतिरक्षा, एमसिसि पारित गर्ने सन्र्दभ र दस्तावेजमा उल्लेखित आईपीएस चीन घेर्ने रणनीतिका रुपमा आएको भन्ने शब्द झिक्न लगाउने गरी प्रस्तुत हुन निर्देशन गरेको स्रोत बताउँछ । 
ओलीको सोही निर्देशनपछि नेकपा बैठकमा ओली पक्षका नेताहरुले सोही अनुसार नै आफना प्रस्तुती दिन थालेका छन् । 

प्रधानमन्त्री ओली बैठकको उदघाटन मन्तब्य दिएर हिडेपछि समहुगत छलफलमा नेताहरुले प्रधानमन्त्री त्यसरी बैठक छोडेर हिड्न नहुने धारणा राखिरहेका बेला उनकै नीजि सचिवालयकै नेताहरु आइपीएस चीन घेर्ने रणनीतिका रुपमा आएको शब्द दस्तावेजवाट झिक्नु पर्ने भन्दै प्रस्तुत भएपछि त्यो प्रधानमन्त्रीकै असन्तुष्टिका रुपमा बाहिरिएको छ । समुह १३ मा रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समुहगत छलफलमा  भाग लिँदै अमेरिकाले चीनलाई घेर्ने रणनीति बनाउँदैछ भनेर नेकपाले प्रतिवेदनमा लेख्नु ठीक नभएको बताएका थिए ।

उनले चीन र अमेरिकाको सन्दर्भमा अलग–अलग चर्चा गर्नु परिपक्वता हुने भन्दै घेर्ने शब्द दस्तावेजवाट झिक्नुपर्ने मत राखेका थिए । सो समुह छलफलमा सहभागी एक नेताले भने, – प्रधानमन्त्रीकै निर्देशन अनुसार आएजसो गरी उहाँले आइपिएसले चीन घेर्ने रणनीति बोकेर आएको भन्ने दस्तावेजमा असन्तुष्टि पोख्नु भएको थियो ।’ राजनीतिक प्रतिवेदनमा उल्लेखित इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको भन्ने शब्द अनावश्यक रहेको भन्दै नेपाल शक्ति राष्ट्रको विवादमा फस्न नहुने तर्क रिमालको थियो ।

त्यस्तै अभिब्यक्ति सञ्चारमन्त्री गोकुल वाँस्कोटाको पनि थियो ।  मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमै वाँस्कोटाले पार्टी दस्तावेजमा उल्लेखित विषयमा असन्तुष्टि पोखेका थिए । बाँस्कोटाले कसले कसलाई घेर्न रणनीति बनायो र कसले कसलाई छेक्न अर्को रणनीति बनायो भनेर ब्याख्या गर्ने आधिकारिक ब्याख्याता नेकपा नभएको बताएका थिए । मुलुक सञ्चालन गरिरहेको पार्टीले कुनै पनि मित्र राष्ट्रका बारेमा कूटनीतिक मर्यादा विपरीतका शब्दहरु राख्न नमिल्ने सञ्चारमन्त्री बाँस्कोटाको भनाई थियो ।

उता ११ नम्वर समुहमा रहेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भटटराइृले पनि चीन घेर्ने रणनीति दस्तावेजबाटै झिक्नुपर्ने मत राखेका थिए । समुह १४ मा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सोही खालले दस्तावेजमाथी टिप्पणी गरेका थिए ।  नीजि कोटरीका नेतावाटै दस्तावेजमा उल्लेखित शब्दमा आपत्ति आएपछि त्यो प्रधानमन्त्रीकै असन्तुष्टि हो भन्ने प्रष्टै देखिएको एक सचिवालय सदस्यले सफलखबरलाई बताए ।

‘एकातिर इन्डो प्यासेफिकको जे हो, त्यो लेख्नबाट पार्टी दस्तावेजमा डराउने, अर्काेतिर अमेरिकाले अगाडी सारेको एमसिसि पारित गर्न मरिहत्ते गर्नुभित्र कतै केही साइनो सम्वन्ध त छैन ? प्रश्न उठन थालेको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने ।

बिआरआई र इन्डो प्यासेफिक रणनीतिका बारेमा दस्तावेज स्पष्ट रुपमा आएको भन्दै झण्डै दुई तिहाई केन्द्रीय नेताहरुले सुझाव राखिरहेका बेला प्रधानमन्त्रीको भित्री कोटरीका नेताहरुबाटै इन्डो प्यासेफिक रणनीतिका विषयमा दस्तावेजमा गरिएको ब्याख्यामा असन्तुष्टि आउनुले प्रधानमन्त्रीको एमसिसि भित्रको नियत झल्किने नेताहरुको बुझाई छ ।