नेपाल भारत सिमामा किन खटियो सर्वे टोली ?

पत्रपत्रिकाबाट

बुधबार, १५ माघ २०७६, ०७ : ०२
नेपाल भारत सिमामा किन खटियो सर्वे टोली ?

धनगढी । कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन्।

माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो। दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ।

आव ०७४/७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७५/७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन। यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ। भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ। दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ।

कैलालीको सीमा स्तम्भ नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेव सीमा स्तम्भ नम्बर ८११ सम्म (साविकको २१०) को जिम्मेवारी पाएको संयुक्त सीमा सर्भे टोली नम्बर ४ ले कैलालीकै फूलबारीमा सीमा स्तम्भको टुंगो लगाउन सकेको छैन। गत वर्ष फूलबारीमा सर्भे टोलीले नेपालीले चर्चेको भूभाग भारतमा पर्ने भनेपछि विवाद देखिएको थियो। ‘यसपालि पनि खासै प्रगति होला जस्तो छैन। तैपनि हामी रेकीमा गएका छौं’, संयुक्त सीमा सर्भे टोलीका संयोजक जनक भण्डारीले भने।

धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा सीमा विवादकै कारण ६ वटा पिलर निर्माण गर्न सकिएको छैन। फूलबारीमा सीमा स्तम्भ हराएका छन्। ती सबै सीमा स्तम्भ सार्दा र पुनर्निर्माण गर्दा नेपालीले भोग चलन गरिरहको भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए।

कञ्चनपुरमा विवाद उस्तै

कञ्चनपुर पुनर्वास नगरपालिकाको आनन्दबजार र प्याराताल क्षेत्रको सीमा विवाद कायमै छ। कञ्चनपुरको डोकेबजार नजिक एउटा मात्र स्तम्भ मर्मत भएको छ। यसपालि गठित सर्भे टोलीलाई कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा विवाद सुल्झाउने जिम्मेवारी तोकिएको छ।

पुनर्वास नगरपालिकाको आनन्द बजारमा तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको मृत्युपछि त्यहाँ सीमा विवाद उत्कर्षमा छ। त्यहाँ अस्थायी नाकाको आवागमन बन्द गरिएको छ भने झडप भएको स्थानमा सशस्त्र प्रहरीको आधार शिविर राखिएको छ। गत वर्षको सर्भे टोलीले आनन्द बजारमा रेकीबाहेक अरू काम गर्न सकेन।

प्यारातालमा पनि विवाद उस्तै छ। प्याराताल भारतको दुधवा नेसनल पार्क छेउमा पर्छ। त्यहाँका वन्यजन्तुको पानीका लागि भारतीय पक्षले ताललाई आँखा लगाएको स्थानीय बताउँछन्। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस