नयाँ सञ्चारमन्त्री खोज्दै प्रधानमन्त्री ओली

अहिलेका सञ्चारमन्त्रीलाई शहरी विकास मन्त्रालयको जिम्मा दिएर नयाँ सञ्चारमन्त्री ल्याउने तयारी

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, ०९ : ४२
नयाँ सञ्चारमन्त्री खोज्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले क्याबिनेटमा खास रुचाईएका मन्त्री हुन् – सञ्चारमन्त्री गोकुल बाँस्कोटा । प्रधानमन्त्री जस्तै शिल स्वभाव भएका र सरकारको बचाउमा खरो उत्रिएका नेतामा पनि पर्छन, मन्त्री बाँस्कोटा ।

गत पुस ४ मा मन्त्रीमण्डल हेरफेर हुँदा सञ्चारमन्त्री बाँस्कोटाले निरन्तरता पाउने÷नपाउनेमा अध्यक्षद्वयका बीचमा मन्त्रीमण्डल पूर्नगठनका बेला छलफल पनि भएको थियो । तर ओलीले बाँस्कोटालाई कुनै हालतमा सरकारबाट झिक्न नसक्ने अडानमा रहे । पहिले राज्यमन्त्रीवाट सरकारमा इन्टी मारेका बाँस्कोटाले पछि फुल मन्त्री नै पड्काए । प्रधानमन्त्री ओलीले बाँस्कोटामाथी गरेको विश्वासको ‘इनाम’ थियो त्यो ।

तर के प्रधानमन्त्री ओलीले अहिले सञ्चारमन्त्री बाँस्कोटाको विकल्पमा नयाँ सञ्चारमन्त्रीको खोजी गर्दैछन् ? अहिले सत्तारुढ दल नेकपाभित्र यो विषय बहसमा आएको छ । बाँस्कोटालाई क्याविनेट मन्त्रीबाट उनले झिक्न भने खोजेका होइनन । उनलाई विकासे मन्त्रालयमा सार्ने योजना प्रधानमन्त्रीले बनाएका हुन् ।

गत पुसमा मन्त्रीमण्डल हेरफेर गर्दा उनलाई पनि भानुभक्त ढकाल र तत्कालिन मन्त्री उपेन्द्र यादवलाई झै मन्त्रालय हेरफेरको तयारी प्रधानमन्त्रीले गरेका थिए । त्यसबेला स्वास्थ्यमा रहेका उपेन्द्रलाई कानुनमा र कानुनमा रहेका भानुभक्तलाई प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयमा लगेर साटफेर गरिदिएका थिए ।

आप्mना विश्वासपात्र मन्त्री बाँस्कोटाका हकमा पनि प्रधानमन्त्रीले त्यस्तै गर्न चाहेका थिए । केही समय अगाडी मात्र मन्त्रीमा नियुक्त भएर आएका योगेश भटटराईलाई सञ्चार र बाँस्कोटालाई पर्यटनमा लगेर जिम्मा दिन खोजेका थिए, त्यसबेलै प्रधानमन्त्री ओलीले । 

पर्यटन भ्रमण वर्ष २०२० को भव्य तयारी र बजेट पर्याप्त रहेको मन्त्रालयमा उनले बाँस्कोटालाई सारेर योगेशलाई सञ्चारमा ल्याउन प्रधानमन्त्रीले चाहेका थिए । तर योगेशले आफु भर्खर मात्र पर्यटनको जिम्मामा आएको र लगत्तै पर्यटन छाडेर अन्यत्र नजाने बताएपछि प्रधानमन्त्री ओली बाँस्कोटालाई सञ्चारमै राखिरहन बाध्य भएका थिए ।

दुई मन्त्रालय लिएर सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त मन्त्रालय अहिले नेकपाकै दुई मन्त्रीले सम्हालेका छन्  । त्यसमध्ये सञ्चारमन्त्री बाँस्कोटालाई शहरी विकास र भानुभक्तलाई स्वास्थ्य सँगै कानुन मन्त्रालयको पनि जिम्मा दिईएको छ ।

प्रधानमन्त्रीले तत्काल अब मन्त्रीपरिषद् पूर्नगठन गरेर रिक्त ति दुई मन्त्रालय सहित राजपालाई समेत सरकारमा ल्याउने चाहना राखेका छन् । आफु नेतृत्वको सरकारलाई दुई तिहाईकै सन्देश दिलाउन उनले राजपालाई सरकारमा ल्याउने अनेक जुक्ति निकालिरहेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाको संसद पद फागुन २० बाट सकिन लागेको, दुई मन्त्रालय रिक्त रहेको, उपसभामुख पार्टीले जसलाई सहयोग गर्छ, उसैले पाउने अवस्था रहेको र उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाम्फेको पनि ब्यवस्थापन गर्नुपर्ने देखेपछि प्रधानमन्त्री ढिलोचाडो मन्त्रीपरिषद् फेरि पूर्नगठनको तयारीमा जुटेको बालुवाटार स्रोतले बताएको छ ।

राजपा सरकारमा आए उसलाई कुन मन्त्रालय दिने भन्नेमा अध्यक्ष प्रचण्डसँग पनि छलफलमा जाने, तर तत्काल राजपा सरकारमा नआए, कानुनमा शिवमाया तुम्बाहाम्फेलाई ल्याउने तयारी प्रधानमन्त्री ओलीको छ ।

त्यही कारण पनि तुम्बाहाम्फेलाई तत्काल पूल्चोकस्थित मन्त्री क्वार्टरबाट सरिनहाल्न प्रधानमन्त्रीले सन्देश पठाएका छन् । सञ्चारमन्त्री बाँस्कोटालाई भने प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयतिर सार्ने योजना बनाएका छन् ।

सिंहदरबारमै संसद भवन, बालुवाटारमा प्रधानमन्त्री निवास देखि ललितपुर भैसेपाटी आवस क्षेत्रमा मन्त्री निवास सम्मका भवन निर्माण गर्नुपर्ने जिम्मा पाएको शहरी विकासमा बाँस्कोटालाई जिम्मा दिने तयारीमा प्रधानमन्त्री लागेका हुन् । बाँस्कोटाको रुची पनि विकासे मन्त्रालयतिर छ ।

बाँस्कोटालाई शहरीमा सारेपछि उनी जस्तै हक्की स्वभावका सञ्चारमन्त्रीको खोजीमा प्रधानमन्त्री छन् । बालुवाटार स्रोत भन्छ,–प्रधानमन्त्री अहिले सरकारको खरो बचाउमा उत्रने सक्ने पार्टीभित्रै भरपर्दाे सञ्चारमन्त्रीको खोजीमा लागेका छन् ।’