हिमपातसंगै भित्रिएको मौसमी रुघाखोकीले १० दिनमा ५ को मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, १२ माघ २०७६, ०७ : ००
हिमपातसंगै भित्रिएको मौसमी रुघाखोकीले १० दिनमा ५ को मृत्यु

हुम्ला  ।  हुम्लामा हिमपात रोकिएर घाम लागे पनि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण चिसो बढ्दा जिल्लाका ग्रामीण क्षेत्रमा फैलिएको मौसमी फ्लुले बिरामीहरु थला परेका छ । सिजनल रुघाखोकीले गत पुष २७ देखि माघ शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ  ।

मृत्यु हनेमा सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले बताए । यसैगरी चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले बताइन् । 

उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएकाहरु बिरामीहरु बढी संक्रमित भएका छन् । मासिधारामा मृत्यु हुने सबैमा दम र अन्य दीर्घ रोगका बिरामी रहेको शाहीले बताइन् । मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन् ।

उनापानी गाउँमा गाउँपालिकाबाट दिएको औषधिसमेत सकिएको छ । गाउँभरी नै बिरामी थला परेकाले वृद्धवृद्धा बालबालिका गरी ६० जना बिरामी परेका छन् । समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने भएकाले समयमै उपचारमा सहयोग यससंग सरोकार राख्ने गाउापालिका सहित सरोकारवाला सम्पुर्ण निकायको समयमा ध्यान जानु पर्ने स्थानीयले आग्रह गरेका छन् ।

‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै । औषधि खरिदका लागि रकम बिनियोजित गरिन्छ तर औषधि आउदैन । समयमा औषधि ल्याएको भए यो समस्या आउदैन थियो,’ सर्केगाड–२ का गुरु कार्कीले भने ।

जिल्लामा सिजनल रुघाखोकी फैलेको खबर आउने बितिकै हुम्लाका सबै गाउँपालिकाले पालिकामा उपलब्ध औषधि सबै स्वास्थ्य संस्थामा पठाई आफ्नो मताहतका स्वास्थ्यकर्मीलाई स्टेबाई रहन सबै गासपालिकाले निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । जिल्ला अस्पतालका अनुसार अहिले दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढ्ने हो भने उपचारका लागि औषधि र पूर्वाधारको समस्या देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।