काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिनुभयो ।
विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गर्नुभएको थियो । साथै यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुङ्गो लगाउने गरी सकारात्मक छलफल भएको थियो ।
आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित हुनुहुन्छ । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।
सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
काँग्रेसको काठमाडौँ चुनावी सभा फागुन १७ गते तय, गगन र विश्वप्रकाशसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने