मन्त्री पोखरेलले भने, ‘सेनाको एकीकरण मार्ग दिर्घकालिन महत्वको’

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, २० : २०
मन्त्री पोखरेलले भने, ‘सेनाको एकीकरण मार्ग दिर्घकालिन महत्वको’

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले सञ्चालन गरेको एकीकरण मार्ग दिर्घकालिन र बहुआयामिक महत्वको रहेको बताएका छन् । 
उक्त विषयमा आज काठमाडौँमा सरोकारवालाहरु, स्थानीय सर्वसाधारण, सुरक्षा निकाय तथा विषय विज्ञसँगको अन्तरक्रियाका क्रममा उनले मुलुकको समृद्धि र विकासमा उक्त कार्यक्रमले टेवा पुर्याउने विश्वास व्यक्त गरे । 

नेपाली सेनाको जंगी अड्डामा भएको सेमिनारलाई सम्बोधन गर्दै उनले स्थानीय स्तरमा ऐतिहासिक तथा पुरातात्विक विषयहरुमा ज्ञानको अभिवृद्धि हुन गई यस कार्यक्रमसँग सम्बन्धित दीर्घकालीन महत्व राख्ने भौतिक संरचना लगायत सबै प्रकारका दस्तावेजहरु र स्थलहरुको संरक्षण हुनुका साथै स्थानीय पर्यटनको विकासमा समेत ठूलो सहयोग पुग्ने बताए ।  
उनले एकीकरण मार्ग कार्यक्रमको कार्यान्वयन पश्चात स्थानीय स्तरमा यातायत, संचार, विद्युत, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत पूर्वाधारहरुको गुणस्तरीय विकास हुन गई स्थानीय व्यापार व्यवसाय र आर्थिक गतिविधिहरुमा समेत बृद्धि हुने विश्वास व्यक्त गरे  । 

बहुआयामिक कार्यक्रमलाई दीर्घकालिन सोच राखेर विकास गर्न सकिएमा बृहत् राष्ट्रिय हितमा योगदान पुग्ने विचार राख्दै उनले नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा आवश्यक बजेटसहित सेमिनारबाट पारित भई प्रस्ताव हुने आश्वासन दिए ।

नेपाली सेनाको पहलतामा शुरु भएको एकीकरण मार्ग कार्यक्रमलाई नेपाल सरकारका सवै सम्वद्ध मन्त्रालय र निकायहरु तथा गैरसरकारी निकायहरुसंगसमेत समन्वय गरी अझ ब्यवस्थीत एवम् प्रभावकारी र एकीकृत रुपमा अगाडी बढाउने उद्देश्यले एकीकरण मार्ग कार्यक्रम अन्तगत बृहत सेमिनार गरिएको नेपाली सेनाले जनाएको छ ।

एकिकृत कार्यक्रमको रुपमा अगाडि बढाउन आगामी आर्थिक वर्षको लागि समेत नेपाली सेना लगायत संघीय, प्रदेश र स्थानीय तहको तर्फबाट एकीकरण मार्ग कार्यक्रम सम्बन्धमा नेपाल सरकारको नीति तथा कार्यक्रममा योजनाहरु समन्वयात्मक रुपमा सम्पादन गरिने योजना रहेकोछ । 
तीन दिनसम्म संचालन भएको सेमिनारमा विभिन्न गढी, किल्ला, तथा संग्रहालय सम्बन्धी प्रस्तुतिकरण र एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, भूतपूर्व प्रधानसेनापतिहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु त्था निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यस प्रकारको कार्यक्रमले नेपाली सेनाका सवै तह लगायत सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरुले समेत ईतिहास संरक्षण, सम्वर्द्धन र प्रर्वद्धन गरी दिगो बिकासको लागि पर्यटन प्रर्वद्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान र्पुयाउनुका साथै सम्बद्ध सवै सरोकारवालाहरुले एकीकरण मार्ग कार्यक्रमलाई समान रुपमा बुझ्न गई अपनत्व समेत महशुस गराउने विश्वास नेपाली सेनाले लिएको छ ।