काठमाडौं । बिहिबार धादिंङको बेनीघाटबाट त्रिशुलीमा परिवार सहित हाम फालेका चन्द्रागिरी नगरपालिका ४, थानकोटका विनय लामिछानेले अन्ततः श्रीमती गुमाए भने दुई छोरा र एक छोरी बेपत्ता भए ।
शिक्षण पेशा छाडेर अनलाईन व्यापार गर्न थालेका उनले किन रोजे त यो डरलाग्दो बाटो । स्थानिय छिमेकी, परिवार पनि कसैलाई थाहै नदिई यो घटना घटाएपनि अहिले सबै स्तब्ध बनेका छन् । मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाई छ।
प्रहरीले विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको बताएको छ। यस्तै जमुनाका फेसबुक स्टाटसका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो। प्रहरीले उनीहरु झलुंगे पुलबाट हामफालेको प्रारम्भिक अनुमान गरेको भए पनि विनयले आफूहरु नदीमा हेलिएको बताएका हुन्।
उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको गजुरी प्रहरीलाई विनयले बताएका छन्। त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि श्रीमान विनय लामिछानेको तत्काल उद्धार गरियो। संक्रान्ति मनाउन गजुरी ६ आदमघाट बजारस्थित माइतीसमेत रहेका वडाध्यक्ष कुमार रेग्मीको घर जान्छु भनेर पोखरा जाने बसमा चढेका लामिछाने दम्पति आदमघाटस्थित माइतीघर नझरेर बेनीघाट बजार झरेका थिए।
जमुनाले आफ्नो अंग्रेजी नाम उल्टो बनाएर फेसबुकमा पुस १९ गते ७ बजेर ४९ मिनेटमा लेखेको स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाब दिएको उल्लेख गरेकी छन्। जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा थानकोटमा आएका नयाँ डिएसपीसँग मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न माग गरेकी थिइन्।
उनले फेसबुकमा आफनो नाम उल्टोपाल्टो बनाएर परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दबाब थेग्न नसकेपछि कारबाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने अनुमान गरिएको धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।
मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिकाअन्तर्गत थानकोटमा बस्दै आएका थिए। उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए। सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब २ करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हामफालेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्।
प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ। लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए।
तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्यो।’ नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो।
घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हेलिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्। उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ।
माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा अनलाइन व्यापारका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरिए पनि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम गोप्य राखेको छ। मृतक जमुना सिद्दलेक ७ वडघरेमा जन्मेर स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिइन् भने विनयले २ वटा विषयमा स्नातकोत्तर अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ माघ २०७६, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास
एसईईमा फेल भएपछि दुई छात्राले गरे आत्महत्या
संसद् भवन सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या