गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या

पत्रपत्रिकाबाट

शनिबार, २६ पुस २०७६, ०८ : ४२
गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या

गुल्मी । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए ।

गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । ‘चिच्याएको सुनेपछि म आए, रक्ताम्य अवस्थामा लड्नुभएको थियो ।’ मसुराले भनिन्, ‘गोरुले हानेको भनेपनि अवस्था त्यस्तो थिएन ।’

यसरी भयो हत्या

सोहि दिन दिउसोँ तत्कालिन घाइते र हाल मृतक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाईन् र चिर्पट दाउरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउछिन् ।

फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हानेर भुँइमा लगाउछिन् । देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन । कोहि नआएपछि उनीहरुलाई पनि गहना लुट्ने समय मिल्यो । अनि बुलाकी, मडाउरी लगायतका गहना दुवै मिलेर लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्तत देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु लडेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन् ।

गहना लुट्दा सासूको ज्यान गयो

कौशिलाले गहनाको रुपमा नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् । आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो । गत ७ बर्ष पहिले पनि देवीले सासु–ससुराको खानामा विष राखेर पकाएकी थिइन् । संयोगले बिरामी परेपनि त्यत्तिबेला उनीहरु बाचेँ । त्यो बेलादेखि नै देवी सासु–ससुरासँग एउटै घरमा छुट्टिएर बसेकी थिइन् । केहि महिना पहिले पनि देवीले सासुलाई हानेर लडाएको छिमेकी बताउछन् । त्यत्तिमात्र होइन्, सासु–बुहारीको झगडा, सामान्य आगलागि जस्ता विषय कौशिला र देवीको घरमा सामान्य जस्तै भएको स्थानीय बताउछन् ।

मुख्य कारण मदिरा

इस्मा गाउँपालिका जिल्लाकै अत्याधिक घरेलु मदिरा उत्पादन र बिक्री हुने क्षेत्रका रुपमा चिनिन्छ । स्थानीय तह गठनपश्चात केहि कमि भएपनि समाजमा मदिरा उपभोग गर्ने भने घटेका छैनन् । महिला, पुरुष वा बृद्ध । अधिकाशं कुमाल र दलित तथा अन्य जातिले पनि मदिरा सेवन गर्ने गरेको पाइएको छ ।

मृतकी कौशिलाकी जेठाजुकी बुहारी लक्ष्मी पनि मदिराबाट अछुतो छैनिन् । उनको ससुराको पेन्सन छ । जसबाट उनीसहित उनका ससुरा र लक्ष्मीका श्रीमान अजयले पनि मदिरा सेवन गर्छन । श्रीमान अजय टिभि रोगी हुन् । लक्ष्मीले पनि मदिरा सेवन गरेको बेला उघ्र स्वभावको व्यवहार गर्ने छिमेकी बताउछन् । घटना घट्ने दिन पनि लक्ष्मीले मदिरा सेवन गरेकी हुन्छिन् । जसले गर्दा सासुको हत्या गरी गहना लुट्ने योजना निर्माणमा मदिराले साथ दिएको वडाध्यक्ष तोयनाथ सापकोटाले बताए ।

खुल्न बाँकी दुई तथ्य

घटना घटेको एक साता पुग्न आटिँसक्यो । घटनाको प्रकृति, पहिलेदेखि नै सासु–बुहारीको पारिवारिक विचलन तथा शेर बहादुरको उजुरीको आधारमा प्रहरीले दुई बुहारी प्रक्राउ ग-र्यो । तर अझै केहि तथ्यहरु खुल्न बाँकि रहेका छन् ।

१. घटना घटेको केहि दिनपछि मात्र गहना भेटिनु : घटना पुस १७ गते घट्यो । गहना पनि उतिबेलै चोरी भयो । तर चोरी भएको गहना केहि दिनपछि बल्ल फेला प-र्यो । त्यो पनि गोबरको गुइठाँले आधा पुरीएको र आधा बाहिर देखिने गरी । यदि कसैले गुइठा कुल्चेको वा मिचेको भएपनि वा गहनाको पुरै भाग गुइठामुनि लुकाईएको भएपनि ति गहना फेला पर्ने थिएनन् । अर्को कुरा बुहारीहरुले नै हत्या गरेको भए गहना घरमा नलगि किन गोबरमुनि राखे त ? अनि गुइठाँमुनि गहना कसले त्यसरी मिलाएर राख्यो ?

२. गोरुको सिङमा रातो रङ : घटना घटेको केहि दिनपछि गोरुको सिङको फेदमा रगतको नमुनाको रुपमा रातो रङ लगाइएको छ । यदि गोरुले नै हानेको भए रगत सिङको टुप्पोमा लाग्नुपर्ने, अनि यतिका दिनसम्म रगत मेटिनुपर्ने । सिङमा लगाएको त्यो रङ रगत नभई महिलाहरुले हातको नङमा प्रयोग गर्ने नङपालिस हो । प्रारम्भिक अनुमानमा घटना लुकाउन र गोरुले नै हानेर निधन भएको गराउन रङ लगाइएको अनुमान छ । तर आरोपितहरुले गल्ति स्वीकार गरिसकेको अवस्थामा घटना लुकाउने अवस्थामा छैन । तर गोरुको सिङमा नङपालिसको रङ कसले र किन लगायो ? उत्तर आउन बाँकि यी दुई प्रश्नहरुले पनि यो घटनामा दुई बुहारीबाहेक अन्य व्यक्तिको पनि संग्लगंनता छ कि भन्ने आशकां गर्न सकिन्छ ।

घाइते सासुलाई लिएर उनकी आफ्नै बुहारी देवी पनि उपचारको लागि तम्घास आएकी थिइन् । अस्पतालमा उनले गोरुले हानेको भनेपनि त्यो डाक्टर र अन्य कसैले पत्याएनन् । अनि स्थानीय र प्रहरीले उनै देवीलाई निगरानिमा राखे । पहिले पहिले पनि धेरै घटना हुनेगरेको, सासुबुहारीको झगडा परेको जस्ता कारणले प्रहरीले देवीमाथि शंका ग-र्यो र छानविन प्रक्रिया अगाडी बढायो । त्यसैक्रममा मृतक कौशिलाका श्रीमान शेर बहादुरले घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उजुरी दिए ।

देवीको बयानको क्रममा लक्ष्मीको पनि नाम जोडिन आएपछि प्रहरीले लक्ष्मीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गर्ने बाटो खुल्यो । अनुसन्धान गर्दै जाँदा घाइतेसँगै आएकी उनकी बुहारी देवी र लक्ष्मीका कुरा बाँझिए । प्रहरीले दुवैजनालाई शंकाको घेरामा राख्यो । शेरबहादुरले पनि दुवै बुहारीका विरुद्ध प्रहरी कार्यालयमै किटानी जाहेरी दिए । त्यसैको आधारमा प्रहरीले पौष २० गते दुई बुहारी देवी र लक्ष्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।

बढ्दै कर्तव्य ज्यानका मुद्दा :पछिल्लो समय गुल्मीमा कर्तव्य ज्यान मुद्धाका घटनाहरु बढ्दै गएका छन् । यो आर्थिक बर्षमा मात्रै जिल्लामा पाचँ वटा कर्तव्य ज्यान मुद्धाका घटनाबाट सात जनाले ज्यान गुमाए । जसमा दुई बालबालिका, दुई महिला र तीनजना पुरुष रहेका छन् । नेपाल प्रहरीले अनुसन्धानमा आफुलाई अब्बल मान्दै आएको छ । तर प्रहरी अब्बल रहेपनि घटनामा भने कुनै कमि आएको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस