चिनी मिल संचालकको मनोमानी, उखु कृषकलाई किन दिईयो थोरै रकम ?

पत्रपत्रिकाबाट

शुक्रबार, २५ पुस २०७६, ०६ : ५५
चिनी मिल संचालकको मनोमानी, उखु कृषकलाई किन दिईयो थोरै रकम ?

सांकेतिक तस्बिर ।

काठमाडौँ । उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरेका उखु किसान सरकारसँग सहमति गरेर पुस १८ मा घर फर्किए । माघ ७ गते भित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानबीच सहमति भयो । किसानले काठमाडौंको माइतीघर छोडेको एक साता भयो । ५ वर्षको रकम माघ ७ भित्र पूरै पाउने आशमा उनीहरु फर्किए।यो एक हप्तामा कतिजना किसानले कति पैसा पाए त? 

सर्लाहीका किसान मायाशंकर यादवको परिवारले अन्नपूर्ण चिनी मिलबाट २५ लाख पाउनुपर्ने थियो। उनका दाजु र बुबाले अलगै उखु मिललाई बेचेका थिए। 'मिलले खातामा ७ लाख रुपैयाँ हाल्दिएको छ' उनले भने। यो रकम आर्थिक वर्ष ७५/७६ को हो। अहिले मिलले अर्को झमेला झिकेको यादव बताउँछन्। 'मिलको एकाउन्टेनले ७१/७२ को रेकर्ड नै छैन भन्छ,' उनले भने, 'रेकर्ड त उसले राख्नु पर्ने हो नि, यहाँ त मलाई भनिरहेको छ। मसँग भएको रेकर्ड देखाउँछु अब। '

काठमाडौंमा आन्दोलन गरेर सर्लाही पुगेका यादव अहिले उखु बुझाएको रेकर्ड खोज्न व्यस्त।६० वर्षिय रामविलास महतो आजमात्रै सर्लाहीको सिसौटिया पुगेका छन्। मोतियाबिन्दुको उपचारका लागि उनी काठमाडौं बसे केही दिन। उनको खातामा अन्नपूर्ण चिनी मिलले १ लाख ९८ हजार हालिदिएको छ। उनले अझै १ लाख पाउन पाउन बाँकी छ।

महालक्ष्मी मिलबाट बबिता मिश्रले ३ लाख पाउनु पर्ने थियो। उनको खातामा २ लाख जम्मा भएको छ। उनी छोराछोरीको पढाईको लागि काठमाडौं छिन्। उनका श्रीमान् सर्लाही हानिएका छन्। श्रीमानले २ लाख रकम बुझेको उनले बताइन्। १/२ दिनभित्रै उनी सर्लाही जाने तयारीमा छन्। छिमेकी हरिश्याम महतोले भने कत्ति पनि पैसा नपाएको उनले बताइन्।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले उखु किसानले सबै रकम नपाएको बताउँछन्। 'महालक्ष्मी सुगर मिलले ११ करोड र अन्नपूर्ण मिलले २ करोड बुझाएको भनेर सरकाले हामीलाई भनेको छ। अब पूरा रकम दिएन भने फेरि आन्दोलन गर्छौं। माघ ७ सम्मलाई आन्दोलन रोकिएको मात्र हो,' उनले भने। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस