उखु किसानलाई अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा रकम जाने

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०८२, १२ : ०१
उखु किसानलाई अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा रकम जाने

काठमाडौँ । सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान  बापतको रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा  गरेको हो ।  निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्को बैठकले यस पटक उखु किसानलाई प्रतिक्विन्टल रु. ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

 

यसअघि उखु किसानहरूले प्रतिक्विन्टल रु. ७० प्रोत्साहन स्वरूप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन  मन्त्रिपरिषद् प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु. ३५ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौँमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए ।

उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी भएका थिए । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मंगलवार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस