सवारी दुर्घटनामा ५ जनाको मृत्यु, २३ जना घाइते

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, १४ : ०९
सवारी दुर्घटनामा ५ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं ।  रुकुम (पश्चिम), झापा, म्याग्दी र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । 

रुकुम (पश्चिम)कव् त्रिबेणी गाउँपालिका-४ खुम्चेरीस्थित सडकमा सोही गाउँपालिका-७ मा रहेको साधारण उच्च माध्यामिक बिद्यालयमा राष्ट्रपति रनिङ सिल्ड खेलमा सहभागी भएका बिद्या बिकास माध्यामिक बिद्यालय जिवाङ र अन्धानाशक माध्यामिक बिद्यालय खुम्चेरीका बिद्यार्थीहरु बोकि जाँदै गरेको लु.१ त ९५९० नम्बर ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा विद्या बिकास माध्यामिक बिद्यालय जिवाङमा अध्ययनरत १८ वर्षीय दल बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २० जना विद्यार्थीहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएकोमा ४ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

झापाको दमक नगरपालिका-५ क्याम्पसमोडस्थित सडकमा बीआर०१ जीएच ८७८८ भारतीय नम्बरको ट्रकले मे.१ ह ४९१९ नम्बरको अटो रिक्शालाई शनिबार बेलुका ठक्कर दिँदा अटो रिक्शा चालक दमक नगरपालिका-९ बस्ने ३९ वर्षीय हरि भुजेल र  सोही स्थान बस्ने २४ वर्षीय सुरज साहको घटनास्थमलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई लाइफ लाईन अस्पताल दमक पठाएकोमा २ जना उपचारपछि डिश्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित निलगिरी हाईड्रोपावरमा शनिबार साँझ डम्परले भिरमा माटो फाल्दै गर्दा करिब ५० मिटर तल पल्टिएर गम्भीर घाइते भएका डम्पर चालक नवलपरासी घर भएका २८ वर्षीय भगवन्त कुमार चौधरीको उपचारको लागि जिल्ला अस्पताल म्याग्दी तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने सुरज कुसबन्दियाको ५ वर्षीय छोरा काला कुसबन्दियाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिगएको स्थानीय प्रहरीले उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।