शारिरिक सम्बन्ध पोल खुल्ने डरले १९ वर्षिया युवतीको हत्या

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०७६, ०७ : २०
शारिरिक सम्बन्ध पोल खुल्ने डरले १९ वर्षिया युवतीको हत्या

पाँचथर । हत्या गरेर फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारीकी १९ बर्षीया मन्दिरा अधिकारीको शव ३१ दिनपछि शुक्रबार भेटिएको छ । मन्दिराको शव पाँचथरको कुम्मायक गाउँपालिका–२, र तेह्रथुमको आठराई गाउँपालिका–७, मा पर्ने तमोर नदीको फाक्चुवा दोभानस्थित सेती बगरमा भेटिएको प्रहरीले जनाएको छ ।

पाँचथरको कुम्मायक–१, सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको जानकारी पाएपछि त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय आठराईको टोलिले शव मन्दिराकै भएको पृष्ठि गरेको हो । हातमा रहेको चुराको आधारमा परिवारले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरिक्षक शेसकराम थाम्दारले बताए ।

मन्दिराको गत मंसीर १७ गते आठराई त्रिवेणी गाउँपालिका–३, का दाजु पर्ने २७ बर्षीय रमेश अधिकारीले हत्या गरी तमोर नदीमा फालेका थिए । मन्दिरा मंसीर १७ गते साँझदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनको सोही रात आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारी पुछार र नाङ्खोल्याङ्को सेसम्भु जोडने खड्कुडे झोलुङ्गे पुल नजिकै हत्या गरी तमोर नदीमा फालेको रमेशले प्रहरी समक्ष स्वीकारीसकेका छन् ।

मन्दिराको सगोत्री दाजु रमेश तीन बर्ष अघिदेखि फुलबारीकै गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । निमावि तहका लागि करार शिक्षकको रुपमा काम गर्दै आएका रमेश मन्दिराकै घरमा डेरा बस्दै आएका थिए । सोही क्रममा रमेश र मन्दिराबीच प्रेम झाङ्गिएको अनुसन्धानको क्रममा खुलेको ताप्लेजुङ प्रहरीले जनाएको छ । मन्दिरासँग शारीरिक सम्बन्ध समेत राख्दै आएका रमेशले सोही कुरा बाहिर आउने डरले मन्दिराको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

रमेशलाई प्रहरीले हत्या गरेको २३ दिनपछि पुष नौ गते हाङपाङस्थित घरैबाट पक्राउ गरेको थियो । गत चैत महिनामा दरबन्दी समायोजनपछि रमेश आफ्नै घर हाङपाङ गएका थिए । उनले हाङपाङकै सरस्वती माध्यमिक विद्यालयमा करार शिक्षककै रुपमा काम गर्दै आएका थिए । मन्दिरा हत्याको एक सातापछि, मंसिर २५ गते रमेशको ताप्लेजुङ जिल्लाकै एक युवतीसँग बिवाह समेत भएको छ ।

आफ्नो बिवाहका लागि सामग्री किन्न ताप्लेजुङ सदरमुकाम फुङलिङ गएर फर्किने क्रममा रमेशले मन्दिरालाई फोन गरी भेट्न बोलाएका थिए । भेटपछि बिवाहकै बिषयमा बिवाद हुँदा आवेशमा आई रमेशले मन्दिराको हत्या गरेर तमोर नदीमा फालेको प्रहरी समक्ष बताएका थिए । रमेशले प्रहरी समक्ष मन्दिराको आफैंले हत्या गरेर फालेको बयान दिएपछि ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटाका प्रहरीले तमोर नदीमा शवको खोजीकार्य जारी राखेका थिए ।

उनको शव शुक्रबारै भेटिए पनि ताप्लेजुङ फुलबारीबाट उनका आफन्त शव भेटिएको स्थानमा शनिबार मात्र पुगेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्डमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस