नेपाली काँग्रेसभित्रको घरझगडा उत्कर्षमा

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाउने

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, १७ : ११
नेपाली काँग्रेसभित्रको घरझगडा उत्कर्षमा

काठमाडौं । प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका निभाउन नसकेको नेपाली काँग्रेसभित्रको घरझगडा यतिबेला उत्कर्षमा पुगेको छ । बहुमतको आडमा आफूहरुलाई संस्थापनले पेलेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको समेत भेला बोलाउने तयारी थालेको छ । 

सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न थालेका पौडेल गुटले सभापति नसच्चिए पार्टीबाट अलग हुनेसम्मको चेतावनी दिएका छन् । पछिल्लो पटक सभापति देउवाले एक वर्षपछि महाधिवेशन गर्ने भन्दै कार्यतालिका नै सार्वजनिक गरेपछि बिच्किएको पौडेल समूह हरेक दिनजसो डिनर बैठक गरिरहेको छ । 

सभापति देउवाले आफ्ना विश्वसपात्रहरुलाई पौडेललाई फकाउन खटाएका छन् । तर विश्वसपात्रसँग भेट गर्न समेत पौडेल गुट तयार देखिएको छैन । जसका कारण काँगेसभित्रको घरझगडा भुसको आगोजस्तै फैलिएको छ । भुसको आगो थामथूम पार्नेतर्फ कुनै प्रयास भएको छैन । 

पौडेल समूहका १७ जिल्ला सभापतिहरूको केही दिन पहिले बसेको गोप्य बैठकले माघ महिनामा सभापतिहरूको भेला गर्ने निर्णय गरेको थियो । तर सो निर्णय हालसम्म कार्यान्वयन भएको छैन । पौडेल समूहका जिल्ला सभापतिहरूको भेलामा नेता कृष्णप्रसाद सिटौला समूहका सभापतिहरूको पनि उपस्थिति रहेको थियो । 

१४औँ महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबण्डालाई लिएर पार्टीभित्र पौडेल सामूहले बखेडा निकालेर केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरिरहेका बेला जिल्ला सभापतिहरूको भेला माघमा गर्ने निर्णय भएको बताइएपनि आधिकारीक रुपमा कुनै जानकारी दिइएको छैन । 

नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको मलिनो स्वरमा सार्वजनिक गरेका थिए । आचार्यलाई बोलाएर सभापति देउवाले के चाल हो मधु तिम्रो भनेर थर्काएपछि आचार्य समेत चुप बस्न थालेका छन् । उनलाई सभापतिले राम्रो अवसर दिने भन्दै चुप लागेर बस्न निर्देशन दिएको बताइन्छ । 

सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको काठमाडौंमा गोप्य बैठकको म्याराथुन चलिरहेको छ । जानकारहरुका अनुसार कांग्रेस नेता एवम् सांसद दीव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा डिनरसहित पौडेल नेतृत्वको समूहको गोप्य बैठक बसेको सूचना देउवा निवासमा पुगिसकेको छ ।  

बैठकमा सभापति देउवाविरुद्ध पार्टीमा अभियान चलाउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार डिनरसहितको गोप्य बैठकमा पौडेल समूहले सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान चलाएर महासमितिको बैठक बोलाउने वा अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत छलफल भएको थियो । 

छलफलमा भएका सबै सहमति देउवा समक्ष पुगेपछि अन्तरघातीको खोजीमा पौडेल समूह लागेको छ । भेलामा भएको अडियो रेकर्ड नै देउवा निवास बुढानिलकण्ठ पुगेको छ । सो बैठकमा जिल्ला सभापतिहरूको भेला बोलाएर देउवालाई केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन समेत दवाव दिनेबारेमा परामर्श भएको थियो ।  

गोप्य भनिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेता सहभागी थिए ।  गोप्य बैठकका लागि महोत्तरी पुगेका प्रकाशामान सिंह र मोरङमा रहेका डा.शेखर कोइराला पनि काठमाडौंँ आएका थिए ।

महाराजगञ्जमा गत शनिबार बसेको पौडेल समूहको बैठकमा सहभागी नभएका नेता कृष्णप्रसाद सिटौला सोमबारको बैठकमा भने सहभागी भएका थिए ।  यस्तै देउवाले सोमबार बिहान उपसभापति विमलेन्द्र निधिलाई आफ्नो दूत बनाएर वरिष्ठ नेतासँग कुरा गर्न बोहराटार पठाएका थिए । बोहोराटारमा निधिलाई तिमी किन आएको, म तिमीसँग कुरै गर्दिन भन्दै पौडेलले थर्काएर पठाएको स्रोतको दावी छ । 

पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको पौडेल गुटको दावी छ ।  पछिल्लो बैठकमा सहभागी काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिहरूले भागबण्डा दिने र माग्ने काम बन्द गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई अपील गरेका थिए । तर त्यसको समेत कुनै सुनुवाई भएको छैन । 

असन्तुष्टको भेलमा सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विभानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका थिए । सो एजेण्डा पास भइसकेको छ ।  एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस