काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् ।
आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि-२० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । तर, अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
त्यसपछि क्यानको इन्टिेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गर्यो । त्यही बमोजिम २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी उनको प्रतिबन्ध फुकुवा भएको हो ।
प्रतिबन्ध फुकुवापछि उनी पहिलो पटक बन्द शिविरमा समेटिएका छन् र उनले राष्ट्रिय टिममा कमब्याक गर्ने बाटो खुलेको छ ।पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई क्लोज क्याम्पमा राखिएको छ । यस्तै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकारलगायत युवा खेलाडीहरूले पनि मौका पाएका छन् ।
नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टि-२० विश्वकप छनोट खेल्दै छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १६ : १०
लेखकबाट थप