अवैध गाँजासहित चार जना पक्राउ

रासस

शनिबार, १९ पुस २०७६, १५ : ५१
अवैध गाँजासहित चार जना पक्राउ

हेटौँडा । प्रहरीले आज बिहान करिब १ः३० बजे हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे र चुरियामाइको बीच जङ्गलमा बा५ख ७२६८ नंको ट्रकबाट २१ केजी अवैध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तस्करी गर्ने ट्रकमा यात्रारत राक्सिराङ गापा–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तान र ट्रक नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्रकका चालकको खोजी भइरहेको छ ।

यसैगरी आजै बिहान करिब ३ः३० बजे सोही सडकको सोही स्थानमा हेटौँडाबाट वीरगञ्ज जान लागेको रातोमाटे प्रहरी चौकीमा जाँच गर्न भारतीय डीए–३ सीएक्यू ४१७२ नंको कारलाई रोक्दा नरोकेपछि प्रहरीले पिछा गरी कार रोक्दा त्यसमा सवार तीन जनालाई भाग्ने क्रममा प्रहरीले पेस्तोलबाट हवाई फायर गरी नियन्त्रणमा लिएको छ । कारको पछाडिको सिटमुनि फल्सबटनमा लुकाएको अवैध गाँजा ३२ केजी पनि बरामद गरी कारसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

कारमा यात्रा गरिरहेका भारतीय चालक बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट जिल्ला यमुनामाई गापा–४ का विकास सिंह रहेका छन् ।

यसैगरी प्रहरीले जिल्ला अदालत मकवानपुरले २०७२ जेठ २७ मा डाका मुद्दामा छ वर्ष कैद र रु ६३ हजार ७५० जरिवाना तोकिएको फैसलामा फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २७ वर्षीय गोविन्द घिमिरेलाई बारा जिल्लाको सिमरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेका सबैलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिने प्रहरीले जानकारी दिएको छ । (रासस)