नक्कली स्मार्ट लाईसेन्स बनाउने कार्यमा संलग्न ६ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, १८ : ४२
नक्कली स्मार्ट लाईसेन्स बनाउने कार्यमा संलग्न ६ जना पक्राउ

काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका-१ घर भई काठमाडौं कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाडौं महानगरपालिकाका-६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ, बारा जितपुर सिमरा नगरपालिका-१ घर भई काठमाडौं अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा सुखिपुर नगरपालिका-४ घर भई काठमाडौं कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादब र  काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन् । 

नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा आशिष स्टुडियोका संचालक बुद्धि बहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमतिपत्र ४ थान, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपीयु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका सबै जनालाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस