सभामुख चयनमा ओली र दाहाल बिच किन सहमती जुट्न सकेन् ?

पत्रपत्रिकाबाट

बुधबार, १६ पुस २०७६, ०६ : ५४
सभामुख चयनमा ओली र दाहाल बिच किन सहमती जुट्न सकेन् ?

काठमाडौँ ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आ–आफ्ना अडान कायम रहेपछि सभामुख चयन प्रक्रिया लम्बिएको छ । ससंदको पहिलाे कार्यसूची रहेको सभामुख निर्वाचन प्रक्रिया कम्तीमा पुस अन्तिमसम्म धकेलिएको छ । मंगलबार बिहान ओली र दाहालले सभामुख, उपसभामुख, रिक्त मन्त्री र प्रदेश राजधानीको विषयमा करिब दुई घन्टा लामो छलफल गर्दापनि सभामुखमा सहमति जुटाउन सकेनन्।

सहमति नजुटेलगत्तै दुई अध्यक्षले संसद बैठक पुस २७ गते सम्मका लागि स्थगितगर्न लगाएका थिए। करिब दुई साता लामो समयका लागि संसद बैठक सारेपछि सभामुखको विषय पेचिलो बनेको देखिएको हो। यद्यपि बिहिबार बस्ने सचिवालय बैठकमा यो विषय छलफल हुने सम्भावना छ।

पार्टीका शीर्ष नेताले पनि सभामुखका विषयमा पार्टीमा औपचारिक छलफल नभएको र दुई अध्यक्षले छलफल गरेको प्रतिक्रिया दिए। 'सभामुख चयनको विषय अहिलेसम्म स्थायी समिति र सचिवालय बैठकमा प्रस्ताव आएको छैन। दुई अध्यक्षले कसमकस बहस गर्छन् भने अरुले जान्ने कुरा भएन,’ नेकपा वरिष्ठ नेता झलनाथ खनालले भने, ‘उहाँहरुबीचमा कुरा नमिल्ने बित्तिकै पार्टीमा कुरा मिलेन भन्ने सन्देश दिनु पनि अर्थपूर्ण हुँदैन।’ स्रोतका अनुसार मंगलबारको छलफलमा अध्यक्ष दाहालले आफूमाथि पूर्वसहमति अनुसार सभामुखमा अडान कायम राख्न दबाब आएको बताएका थिए।

सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङ र दाहालले अग्नि सापकोटालाई अगाडि सारेका छन्। र, आफूले अगाडि सारेका नेताहरुलाई सभामुखको आश्वासन पनि दिएका छन्। ‘पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। त्यसको तयारी गर्नुपर्ने भएकाले अध्यक्षहरुबीच सभामुखको विषयमा धेरै छलफल हुन नपाएको जस्तो देखिन्छ,’ नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘संसद बैठक सरेको छ।

अब सभामुखबारे छलफल गर्न प्रयाप्त समय छ। उक्त बैठकपछि दुई अध्यक्षले टुंगाउनु होला।’ आफू निकटका नेताहरुलाई ओलीले सभामुखका लागि नेम्वाङ उपयुक्त पात्र भएको हुँदा अर्को विकल्पमा कुरा समेत गर्न नसकिने बताउने गरेका छन्।शनिबार दाहाललाई भेट्न खुमलटार पुगेका नेताहरुले कुनै हालतमा सभामुख पद नछाड्न दबाब दिएका छन्।

दाहालले पनि पूर्वसहमति अनुसार सभामुख पूर्वमाओवादीले पाउनुपर्नेमा आफ्नो अडान कायमै रहेको बताएका थिए। दाहालसँग सभामुखका दाबेदार अग्नी सापकोटा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेताहरुले भेट गरेका थिए। ओली र दाहालबीच सभामुखबारे शनिबार पनि छलफल भएको थियो। उनीहरुबीचको छलफल पछि सभामुख र राष्ट्रियसभा निर्वाचनका उमेद्वारबारे छलफल गर्न आइतबार सचिवालय बैठक बोलाइएको थियो। तर, यी एजेन्डामा छलफल नै नगरी उक्त दिनको सचिवालय बैठक सकिएको थियो।

संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबर्जस्ती करणीको आरोपपछि कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए। वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँड हुँदा सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो। त्यसैअनुसार महरा सभामुख र शिवमाया तुम्बाहाङ्फे उपसभामुख चयन भएका थिए। महराको राजीनामापछि खाली सभामुख आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्व माओवादी समूहको छ। पूर्व एमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ।

सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्था छ। यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुख तुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ। किनकी एउटै पार्टीको तर्फबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्था छ। तर, तुम्बाहाङ्फेले पनि सभामुखमा आफ्नो दाबी कायमै राखेकी छन्। संसद बैठक ११ दिन पछि धकेलिएपनि केही दिनमै सभामुखबारे पार्टीले निर्णय गर्ने वरिष्ठ नेता खनालले बताए। ‘बिहिबार सचिवालय बैठक बस्दै छ। संभवत त्यो एजेन्डा आउँछ। हामी त्यहाँ निर्णय गर्छौं,’ खनालले भने। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस