‘सरकारको उच्च प्राथमिकता राजमार्ग’

मंगलबार, १५ पुस २०७६, २० : ०३
‘सरकारको उच्च प्राथमिकता राजमार्ग’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले विभिन्न राजमार्गलाई उच्च प्राथमिकता दिएर निर्माण अघि बढाइरहेको बताउनुभएको छ । सडक बोर्ड नेपालको १७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले मध्यपाहाडी लोकमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–निजगढ दु्रतमार्ग, कोशी, मेची र गण्डकी करिडोर निर्माण द्रुत रुपमा अघि बढिरहेको बताउनुभयो ।

सडक निर्माणसँगै सडकको नियमित मर्मतलाईसमेत सरकारमा प्राथमिकतामा रहेको उहाँको भनाइ छ । सडक बोर्ड नेपाल सडकको नियमित मर्मत, सम्भार पारदर्शीरुपमा काम गर्ने संस्था भएको उहाँको भनाइ छ । सडक निर्माण र मर्मतमा तीनै तहका सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यातायातको मुख्य पूर्वाधार सडकलाई सुविधायुक्त बनाउन सबै लाग्नुपर्छ ।’ राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा पुष्पराज कँडेलले स्थानीय तहमा आवश्यकता भन्दा बढी सडक बनिरहेको बताउनुभयो । देशभर निर्माण भएका सडकको नियमन हुन नसकेको उहाँको भनाइ छ ।

ट्रकलगायतका गरौं सवारीसाधनका कारण सडकमा खाल्डाखुल्डी पर्ने गरेको भए पनि त्यसको समाधानका विषयमा चासो कम दिइरहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणमा जसरी हामीले भएका सडकको मर्मतमा ध्यान दिन सकिरहेका छैनौँ ।’ बोर्डका अध्यक्ष देवेन्द्र कार्कीले सडक बोर्ड ऐन नयाँ संरचनानुसार संशोधन वा पुनःलेखन हुन नसकेको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयका सचिवसमेत रहनुभएका उहाँले पुरानो संरचनानुसार बोर्डले सडक मर्मतका लागि नेपाल सरकारसँगै प्रदेश सरकार र स्थानीय तहलाई बजेट विनियोजन गरिरहेको छ । उहाँले भन्नुभयो, प्रदेश र स्थानीय तहलाई रकम दिन हुने कि नहुनेभन्ने समेत अन्योल छ ।’

शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नेपाल सरकारले नै  देशभरकै ८० हजारभन्दा बढी सडकमा एकै साथ मर्मत गर्न नसक्ने बताउनुभयो । सडक निर्माण गर्नु पहिले कहाँ कति चौडाइको सडक आवश्यक छ भन्ने योजना बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘कतै पाँच छ लेन सडक बनेको छ तर सवारी चाप छैन भने दुई लेन सडक भएका ठाउँमा सवारी चापका कारण पाँच छ लेन सडक आवश्यक देखिन्छ ।’

विसं २०५८ मा रणनीतिक सडकको मर्मत गर्ने गरी बोर्डको स्थापना भएको थियो ।  बोर्डले हाल सडक दस्तुर, पेट्रोलयम पदार्थ, सवारीसाधनको दर्ता, नवीरकणलगायतबाट सडक मर्मतका लागि रकम व्यवस्थापन गर्दै आएको छ । सडक विभाग, प्रदेश सरकार र स्थानीय तहमार्फत बोर्डले सडक मर्मत सम्भारको काम गर्दे आएको छ ।

सडकमा पूर्वाधार निर्माण गरिँदै
देशभरमा सडक दुर्घटनाका बढिरहँदा सडक विभागले सडकमा आवश्यक पूर्वाधार निर्माण शुरु गरेको छ । दुर्घटनाको जोखिम बढी भएका स्थानमा मोड सुधार गर्ने, सडक छेउमा बार लगाउनेलगायतका काम भइरहेको विभागले जनाएको छ । सडक दुर्घटनाका मुख्य कारण मानवीय त्रुटि भए पनि सडकका कारणले पनि दुर्घटना हुने भनी सडक सुरक्षामा ध्यान दिइएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । देशभरका विभिन्न सडकमा गरी झण्डै ७० किलोमिटर क्षेत्रमा सडक छेउमा फलामको बार लगाइएको उहाँको भनाइ छ ।

सडक किनारामा पहेँलो रङ्गको चिन्ह लगाउँदा पनि सो चिन्ह बाहिर केही भाग छोडिएको छ । सवारीसाधन पहेँले धर्का छाड्नासाथ दुर्घटना नहोस भनी केही स्थान धर्का बाहिर पनि छाडिएको उहाँले बताउनुभयो । साँघुरा घुम्ती भएका स्थानमा त्यसलाई फराकिलो बनाउने काम भइरहेको छ । सडक सुरक्षाका लागि पूर्वाधार निर्माण भएका स्थानमा दुर्घटना कम भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘हामीले पहिले बढी दुर्घटना हुने स्थानका रुपमा पहिचान गरेकामा अहिले दुर्घटना कम भएको पाइएको छ ।’

सडक दुर्घटना न्यूनीकरणकै लागि सरकारले तीन वर्ष पहिले नेपाल सरकारले निर्माण गर्ने सबै सडक दुई लेनभन्दा कम नहुने निर्णय गरेको थियो । तीन वर्ष पहिले नै ठेक्का सम्झौता भएका बाहेक बाँकी सडक दुई लेन वा सोभन्दा बढी चौडाइको निर्माण भइरहेको छ । गतवर्ष छ हजार ९ सय १२ सडक दुर्घटनामा ९ सय ३१ को मृत्यु भएको थियो । सो दुर्घटनामा १ हजार ९ सय ३३ जना गम्भीर घाइते र ५ हजार ४ सय ५० सामान्य घाइते भएका थिए । (रासस)