महेन्द्र राय यादवको दाबी : ‘पाण्डव ५ थिए, हामी १० भाइ छौँ, जित सुनिश्चित छ’

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १६ : ५१
महेन्द्र राय यादवको दाबी : ‘पाण्डव ५ थिए, हामी १० भाइ छौँ, जित सुनिश्चित छ’

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताएका हुन्।

उनले आज एकीकृत भएका दश राजनीतिक पार्टीलाई महाभारतका ५ पात्रसँग जोडेर चर्चा गरे। ‘महाभारतमा पाण्डव पाँच भाइ मात्र थिए,उनीहरूले कौरवलाई परास्त गरे’ उनले भने, ‘हामी आज दश भाइ जम्मा भएका छौँ। त्यसैले हाम्रो जित सुनिश्चित छ।’

अध्यक्ष यादवले अहिले देश संकटपूर्ण अवस्थामा रहेको भन्दै त्यसलाई उकास्न पनि सबै एकीकृत हुनु पर्ने आवश्यकता रहेको बताए।

विगतमा माओवादीसँग पार्टी एकताको पटक पटक छलफल भएको चर्चा गरेका यादवले महाधिवेशन आयोजना गरेका दिन म एकीकृत हुन आइपुग्छ भनेर प्रचण्डलाई भनेको सन्दर्भ कोट्याए। ‘मैले प्रचण्डजीलाई भनेको थिएँ, तपाईँहरूको महाधिवेशनका बेला म त्यहीँ आइपुग्छु। नभन्दै म अहिले यहाँ एकीकृत हुन आइपुगेको छु। म १८ वर्षपछि पुनः मार्क्सवादी हुन आइपुगेको छु।

कम्युनिष्ट पार्टीको विभाजनको मूल कारण आन्तरिक लोकतन्त्रमा आएको संकट भएको भन्दै उनले सामाजिक न्यायको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने र पार्टीभित्र भेदभाव हुन नहुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस