अदालतमा बयान फेर्दा कारवाहीमा परिएला !

पत्रपत्रिकाबाट

सोमबार, १४ पुस २०७६, ०७ : ०८
अदालतमा बयान फेर्दा कारवाहीमा परिएला !

दाङ  । तुलसीपुरकी सिम्रन(नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक बलात्कार गरेको भन्दै उनले अदालतसमक्ष न्यायको माग गरिन्। सोही मुद्दाका आधारमा आरोपित किशोरलाई प्रहरीले नियन्त्रणमा लियो। असार १६ गते अदालतमा परेको उक्त मुद्दा असोज ८ गतेसम्म चल्यो। तर बिडम्बना पीडित भनिएकी सिम्रनले आफैंले १५ दिन जेल बस्नुप-यो। कारण, उनले ती किशोर निर्दोष रहेको भन्दै अदालतमा बयान फेरेकी थिइन्। यो मुद्दामा बलात्कारको मुद्दा लागेका ती किशोरले सफाइ पाए।

गत असोज ८ गते जिल्ला अदालतले गरेको फैसलाअनुसार बलात्कार आरोप लगाउने सिम्रनले १५ दिन कैद भुक्तानसँगै पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने मात्र भएन आरोपित किशोरलाई १५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुप¥यो। ‘झूटा बयान दिएपछि अदालतले उनलाई सजाय सुनाएको हो,’ जिल्ला अदालत मुद्दा फाँटकी एक कर्मचारीले फैसलाबारे जानकारी दिँदै भनिन्, ‘किशोरीले सुरुमा बलात्कार भएको भनेर बयान दिइन् तर पछि झूटो बोलेको भन्दै बयान फेरिन्।’

अदालतका अनुसार सुरुमा किशोरलाई बलात्कारीको आरोप लगाएकी सिम्रनले पछि बयान फेर्दै ती किशोर आफ्नो प्रेमी रहेको बताएकी थिइन्। उनले घरपरिवारको दबाबमा बलात्कार मुद्दा हाल्न बाध्य भएको अदालतसामु बयान दिएकी थिइन्। ‘उहाँ (किशोर) ले बलात्कार गर्नुभएको होइन, उहाँ मेरा प्रेमी हुनुहुन्छ,’ सिम्रनले बोली फेर्दै दिएको बयानमा उल्लेख छ, ‘हाम्रो उठबस गाउँका महिलाहरूले पनि थाहा पाएका थिए अनि मेरी आमालाई ती महिलाहरूले उकासेर बलात्कारको मुद्दा हाल्न दबाब दिएका थिए।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए उनै पीडित भनिएकाहरूमाथि नै सजायको व्यवस्था गरेको छ। सुरुमा बलात्कार गरेको भनेर आरोपसहित मुद्दा दर्ता गर्ने तर पछि झूटो बोलेको भन्दै बयान फेर्नेहरूलाई जिल्ला अदालतले कारबाही गर्ने क्रम बढ्न थालेको छ। आफू बलात्कृत भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेकी बबई गाउँपालिकाकी शर्मिला (नाम परिवर्तन) पनि बयान फेरेकै कारण दोषी ठहर हुनुप¥यो। गत वैशाख ३ गते आफ्नो जन्म दिनका अवसरमा एक युवकले तुलसीपुरमा बोलाएको र तुलसीपुरस्थित होटलमा राखेर आफूलाई बलात्कार गरेको आरोपसहित जिल्ला अदालतमा शर्मिलाले मुद्दा दर्ता गरिन्। ‘जन्मदिनको पार्टी दिने भनेर मलाई तुलसीपुरमा बोलाएको र होटलमा लगेर औषधि खुवाई लट्ठ पारेर बलात्कार गरेको भन्ने उनको सुरुको उजुरी छ,’ मुद्दा फाँटका कर्मचारीले भने, ‘पछि ती युवतीले अदालतमा बयान फेरिन्।’ 

किन फेरिन्छ बयान ?
सुरुमा आफू बलात्कृत भएको भनेर अदालतमा मुद्दा दर्ता गर्नेहरूले पछि उनै दोषी भनिएकाहरूलाई निर्दोष भन्दै फेरिने बयानको पहिलो कारण आर्थिक हो। कुनै बलात्कारको घटना अदालतमा दर्ता हुनासाथ पीडितलाई थामथुम पार्ने पहिलो उपाय नै आर्थिक रकम नै निर्विकल्पजस्तै बन्ने गरेको छ। लगातारको बार्गेनिङपछि मोटो रकम दिने सहमतिमा पीडितहरूलाई बयान फेर्न लगाइने गरेका उदाहरण जिल्लामा थुप्रै रहेको जानकारहरू बताउँछन्।

बलात्कारका घटनाबारे अध्ययन गर्दै आएको इन्सेकका अनुसार जिल्लामा २० हजार रुपैयाँदेखि माथि लाखौँ रकमसम्ममा यस्ता घटनाहरू मिलाइएका छन्। ‘अदालतमा पीडितका पक्षबाट फेरिने बयानको पहिलो कारण भनेकै आर्थिक हो, घटना दर्ता हुनासाथ पीडित र पीडक पक्षबीच घटना सामसुम पार्न आर्थिक मोलमोलाइ सुरु हुन्छ,’ इन्सेकका प्रतिनिधि जेएन सागरले भने, ‘अनि दुवै पक्षलाई चित्त बुझ्नेगरी हुने आर्थिक सहमतिमा अदालतमा बयान फेरिन्छ।’

प्रतिक्रिया दिनुहोस