काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापूर्वको शक्ति बाँडफाडअनुसार नै सभामुख पूर्व माओवादी समूहले पाउनुपर्ने आफ्नो अडान यथावत रहेको सुनाएका छन् । शनिबार साँझ आफ्नो निवास पुगेका पूर्व माओवादी समूहका केही नेताहरुसँगको छलफलमा दाहालले आफ्नो अडान छाड्ने कुनै संकेतसम्म नगरेको बताएका हुन् ।
छलफलमा सहभागी एक नेताका अनुसार सभामुखका विषयमा दाहालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन संवाद हुन बाँकी छ । शनिबार दाहालसँग सभामुखका दावेदार अग्नी सापकोटा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेताहरुले भेट गरेका थिए ।
छलफलमा दाहालले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘मैले सभामुखको दाबी छाडे भनेर जे हल्ला भएको छ, त्यो निराधार हो । अडान छाडेको पनि छैन र त्यस्तो कुनै संकेत पनि गरेको छैन । यो सामान्य विषय होइन । यसमा पूर्व सहमतिअनुसार जानुको विकल्प छैन ।’ दाहाललाई भेट्न गएका नेताहरुले पूर्व सहमति भन्दा दायाँ–बायाँ नर्गन सुझाव दिएको ती नेताले जानकारी दिए ।
दाहालले सभामुखमा स्थायी समिति सदस्य सापकोटालाई अगाडि सारेका छन् । उता प्रधानमन्त्री ओलीले अनुभवी भन्दै पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई अगाडि सारेका छन् । अहिलेसम्म ओली र दाहालका अडान यथावत छन् । ओली र दाहालबीचको विवाद र अडानका कारण आइतबार बसेको सचिवालय बैठक अनिर्णित बनेको छ ।
सभामुख चयन र राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट सम्भावित उमेद्वारका विषयमा छलफल गर्न बैठक तय भएको थियो । महासचिव विष्णु पौडेलका अनुसार बैठकमा यी एजेण्डा प्रवेश भएकापनि थिए । तर, छलफल भने अगाडि बढ्न सकेन । तर, कार्यकारी हैसियतले आफूले नै सभामुखको नाम प्रस्ताव गर्नपाउनुपर्ने दाहालको अडान छ । संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणीको आरोपपछि कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँड हुँदा सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । त्यसैअनुसार महरा सभामुख र शिवमाया तुम्बाहाङ्फे उपसभामुख चयन भएका थिए । महराको राजिनामापछि खाली सभामुख आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्व माओवादी समूहको छ । पूर्व एमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ । सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुख तुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ ।
किनकी एउटै पार्टीको तर्फबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्था छ । तर, तुम्बाहाङ्फेले पनि सभामुख आफ्नो दाबी कायमै राखेकी छिन् । नेकपाभित्र सभामुख कसलाई बनाउने भन्नेबारे कुरा मिल्न नसक्दा शुक्रबार १ बजेका लागि कार्यसूची तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ पुस २०७६, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानको काम मैले अघि बढाएको थिएँ : प्रचण्ड
पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न ‘प्रचण्ड’को आग्रह
‘जेन जेड युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो’ : प्रचण्ड
एमाले छाडेर सबै नेकपामा आउने ‘प्रचण्ड’ को दाबी
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
प्रचण्ड र खनालबीच भेटवार्ता