गृहमन्त्री बादल र साउदी अरेबियाका राजदुतबीच भेटवार्ता

शुक्रबार, ११ पुस २०७६, १८ : ०५
गृहमन्त्री बादल र साउदी अरेबियाका राजदुतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद सुलेमान एम अल मारवानीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदुत मारवानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गर्नुभयो । उहाँले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनिहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदुतसँग आग्रह गर्नुभयो । नेपालबाट साउदी अरेबियामा  हजका लागि जाने हाजिहरुको संख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदुत मारवानीमार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदुतले मारवानीले रोजगारीको सिलसिलामा हाल तिन लाख भन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गर्नुभयो । साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको समेत उहाँको भनाई छ । उहाँले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफुले पहल गर्ने बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस