काठमाडौँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङकी २४ वर्षीया दिलकुमारी बुढा मगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २३ वर्षीया प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी छन् ।
परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममायाले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाइ भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो । भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडित युवतीलाई पक्राउ परेकाहरुले महिनावारी भए नभएको, घाउ भएनभएको तथा शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाहरुले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर गएको थियो । “पीडित युवतीलाई काठमाडौँबाट विराटगर जाने हवाई टिकट र खर्चसमेत पक्राउ परेका कृष्ण तामाङले पठाएको अनुसन्धानमा खुलेको छ”, परिसर प्रमुख सुवेदीले भन्नुभयो ।
पीडित युवती पक्राउ परेकी बुढाका साथमा विराटनगर गएको अनुसन्धानमा खुलेको छ । हवाइजहाजबाट विराटनगर पुगेकी पीडित युवतीलाई अभियुक्त कृष्ण र शाहले भ्यानमा राखेर विराटनगर जलजलाचोकस्थित कालीमन्दिर धर्मशालामा लगेर राखेका थिए ।
पीडित युवतीलाई विराटनगरबाट मोडलिङ गराउने भन्दै पूजाका सामान किनेर जोगबनी पारि लैजाने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको र पीडित महिलालाई उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । “पक्राउ परेका व्यक्तिले मोटो रकम पाउने आशामा युवतीलाई भारत लैजान लागेको अनुुन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनाको मुख्य योजनाकार पोदार भएको परिसरले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये उमेश जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले रु एक लाख नौ हजार ५०० नगद, विभिन्न बैंकको नौ लाख एक हजार बराबरको चेक, कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्रीलगायत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० पुस २०७६, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
सर्लाहीमा नक्कली नोटसहित दुई युवक पक्राउ
पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ