वनमा राखिएको खोरमा नरभक्षी पोथी चितुवा, तनहुँबाट नियन्त्रणमा लिएर ल्याइयो सौराहा

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १२ : ०८
वनमा राखिएको खोरमा नरभक्षी पोथी चितुवा, तनहुँबाट नियन्त्रणमा लिएर ल्याइयो सौराहा

चितवन । तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा पोथी चितुवा परेको हो ।

अन्दाजी सात वर्षको उक्त पोथी चितुवाको तौल करिब ३५ किलो रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण  गरिएको छ ।

केही सातायता चितुवा नियन्त्रणका लागि वन्यजन्तु विभागबाट खटिएका विज्ञ नरेश सुवेदीले वनमा अझै पनि सातवटा जति चितुवा रहेको अनुमान गरेका थिए । ‘यहाँ एकभन्दा बढी पोथी चितुवा भएकैले आक्रमणका घटना बढेका हुन्, उनले भने । हाल नियन्त्रणमा लिइएको चितुवा चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । 

क्यामेरासहित निगरानी

६ बालबालिकाको ज्यान गइसकेपछि अवस्था विकराल रहेको ठहर गर्दै प्रदेश सरकारले स्थानीय तह र वन डिभिजनमार्फत परिचालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सोही क्रममा विभागबाट विज्ञसहितको टोली अहिले भानुमा छ । टोलीले अझै पनि चितुवा नियन्त्रणका लागि गस्ती र निगरानी गरिरहेको छ ।

डेढ वर्षमा छ बालबालिकाको मृत्यु

चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षमा छ बालबालिकाको मृत्यु भइसकेको छ । 

भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ । 

केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस