चिनियाँ अपराधी किन बढ्दै छ नेपालमा ?

पत्रपत्रिकाबाट

बुधबार, ०९ पुस २०७६, ०७ : ११
चिनियाँ अपराधी किन बढ्दै छ नेपालमा ?

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ । गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।

स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ । काठमाडौं आएर उनीहरूले नेपालबाट आफ्ना देशमा भइरहेका साइबर अपराध र आर्थिक अपराधसँग जोडिएका अपराध विषयमा नेपाल प्रहरीसँग संयुक्त रूपमा समन्वयमा काम गरिरहेको स्रोत बताउँछ ।

पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरूमाथि परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालको कानुनकै परिधिभित्रै रहेर मुद्दा प्रक्रिया सुरु भइसकेको बताए । उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ ।

चीन सरकारको विदेश मन्त्रालयले समेत आफ्नो विशेष आग्रहमा नेपाल प्रहरीले काठमाडौंमा १ सय २२ जना चिनियाँ नागरिकलाई दुवै देशको संयुक्त कारबाहीमा पक्राउ गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । फिलिपिन्समा यस्तै प्रकृतिको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिका अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो ।

कारबाहीको डरले भागेर नेपालमा

चीनले आफ्नो मुलुकमा विदेशी भूमिबाट आर्थिक अपराधका घटना गराएको पाइएको भन्दै फिलिपिन्स, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायतका देशमा रहेका आफ्ना नागरिकमाथि कडा निगरानी राख्दै आएको छ । आर्थिक अपराधको घटनामा चीनको कडा निगरानीपछि केही दिनअघि फिलिपिन्सबाट ६ सय १ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

नेपालमा सोमबार पक्राउ परेकामध्ये केही भने ती मुलुकबाट कारबाहीको डरले भागेर नेपाल आएको आशंका चिनियाँ विशेषज्ञ अनुसन्धान टोलीसहित नेपाल प्रहरीको छ । ‘अन्यत्र रहेर आर्थिक अपराधमा संलग्न रहेका केही चिनियाँ उनीहरूकै सरकार तहबाट कडा निगरानीपछि भागेर नेपाल आएको अनुमान छ, पक्राउ परेकामध्ये केहीसँग पासपोर्टसमेत छैन,’ एक उच्च प्रहरी अधिकारीले राजधानीसँग भने । कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढिसकेको छ ।

चिनियाँ साइबर अपराध विज्ञले सघाउँदै

चीन सरकारको टाउको दुखाइ बनेको अनलाइन जुवा र अनलाइन यौन अपराधविरुद्ध कारबाहीमा सघाउन तीन दर्जन बढी चिनियाँ साइबर अपराध विज्ञ नेपाल आएका छन् । नेपालबाट आर्थिक अपराधका घटनासहित अनलाइन जुवा र अनलाइन यौन अपराधमा आफ्ना नागरिकले अवैध गतिविधि गरिरहेको निष्कर्षपछि उनीहरूको टोली नेपाल आएको हो । पक्राउ परेका अधिकांश पर्यटक भिसामा नेपाल आएर अवैध कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस