भारतलाई काउन्टर दिन कालापानीमा सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री बादल

सफल खबर संवाददाता

शुक्रबार, २७ मंसिर २०७६, १७ : २६
भारतलाई काउन्टर दिन कालापानीमा सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री बादल

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी क्षेत्रमा काउन्टर दिन सुरक्षाकर्मी पठाउने बताउनुभएको छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्।

पछिल्लो समय कालापानी क्षेत्रमा भारतले आफ्नो उपस्थिति बढाएको उनको भनाइ थियो।  ‘कालापानीमा भारतले उपस्थिति बढाएको छ’ उनले भने  ‘भारतको सीमा सुरक्षाको जिम्मा सिमा सुरक्षा बल ‘एसएसबी’ को भए पनि कालापानी क्षेत्रमा सेना समेत पुर्‍याएको छ।’  गृहमन्त्री थापाका अनुसार भारतले उक्त क्षेत्रमा चार(पाँच हजार सेनाको संख्यासमेत थपेको छ।

भारतको उक्त कदमको काउण्टरमा नेपालले पनि सुरक्षा उपस्थिति बढाउने उनको भनाइ छ। ‘कालापानीमा नेपालको भूमीबाट जानसक्ने अवस्था छैन। बाटो बनाउनु पर्नेछ। हामी सुरक्षाकर्मी पठाउँछौँ। त्यसपछि कालापानी फिर्ता ल्याउन सक्छौँ’, उनले भने।  सीमा सुरक्षाको जिम्मा गृह मन्त्रालय मातहतको सशस्त्र सुरक्षा बलको भएको थापाको भनाइ थियो।

‘हाल सशस्त्र प्रहरी बलको संख्या ३७ हजार छ। जुन सीमा सुरक्षाका लागि अपुग रहेको छ’, उनले भने, ‘भारतले प्रत्येक एक किलोमिटरको दूरीमा सुरक्षा क्याम्प राखेको छ। हाम्रोतर्फ २५\३० किमीको दूरीमा मात्रै सुरक्षाका क्याम्प रहेको छ। त्यसैले सरकार सीमा सुरक्षा बढाउन थप ७० वटा विओपी थप्ने तयारीमा रहेको छ।’  उनले भने ‘भारतले ४ सय वर्ग किलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको सरकारको जानकारीमा आएको छ। सन् १९६२ पछि भारतले नेपालको भूमि अतिक्रमण गरेको हो।’

प्रतिक्रिया दिनुहोस