काठमाडौँ । शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको र यसमा आवश्यक परामर्श गरेर शुक्रबार अन्तिम रुप दिने दाहालको तयारी छ । पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न थालेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसाँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको बिहीबार उनीसँग भेट गरेका एक नेताले बताए।
दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासागै आगामी कार्ययोजना पनि छ। ती नेताका अनुसार यसबाहेक दाहालले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव छ। ‘लामोसमय कार्ययोजनाविहीन बनेको पार्टीलाई अब एउटा गतिमा दौडाउने गरी प्रतिवेदन आउँछ।’ दाहालसँग भेट गरेका ती नेताले भने, ‘प्रतिवेदन पहिला सचिवालयमा पेस हुन्छ र आवश्यक सुझावपछि स्थायी कमिटीमा जान्छ। मूलत यो प्रतिवेदन एक वर्षपछि बस्न थालेको स्थायी कमिटीको बैठकमा पेस गर्ने गरी बनाइएको छ।’
नेकपाको मंसिर २३ गते बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको दोस्रो बैठक मंसिर २९ र ३० गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउने निर्णय गरेको थियो। स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शनिबार सचिवालयको बैठक बस्दैछ। २३ गतेको सचिवालय बैठकले संगठन विभागबाट २०७६ भदौ ९ गते प्रस्तुत प्रस्तावलाई परिमार्जन गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष दाहाल र नेता वामदेव गौतमलाई दिएको थियो। त्यसैका आधारमा संगठनात्मक प्रस्ताव आउनेछ।
यसबाहेक स्थायी कमिटी बैठकबाट नेकपाले संगठन विभागको अधिकार र कर्तव्यसम्बन्धी पार्टी नियमावलीमा उल्लिखित व्यवस्थामा परिमार्जन एवं संशोधन गर्ने तयारी पनि गरेको छ। नेकपाले यसअघि नै विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अध्यक्ष दाहालको हस्ताक्षरमा भदौ १३ गते जारी भएको अन्तरपार्टी निर्देशिका–२ मा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको उल्लेख थियो।
‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं। यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,’ अन्तरपार्टी निर्देशिकामा भनिएको छ,’ अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्छौं।’ विशेष अभियान सञ्चालन गर्ने कुरा गत वर्ष बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि छ। यिनै निर्णयका आधारमा अध्यक्ष दाहाले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर ६ महिने जनपरिचालन अभियानको कार्ययोजना पनि तयार गरेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ मंसिर २०७६, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड
सरकारको गति परिवर्तन गर्न नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री प्रचण्ड