काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् ।
अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् । अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ ।
यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बार्गेनिङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ । विगतमा अख्तियारमै बसेर गएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल घुस प्रकरणमा मुछिएपछि हाल अख्तियारको अनुसन्धानको घेरामा छन् । अख्तियारले उनलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा उनी निलम्बनमा परे ।
उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निजहरूसँग घुस लिएको विषयमा अख्तियारले भ्रष्टाचारजन्य कार्यमा अनुसन्धान गरिरहेको जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रिजालले एक थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य बाहिरिएको थियो । उनले मेलुङ गाउँपालिका–४ भेडपुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका थिए । रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सीडीओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका थिए ।
विगतमा अख्तियारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षकसमेत घुस प्रकरणमा परेर अनुसन्धानमा तानिए । २० असोजमा महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई स्थानीय व्यवसायीसँग १ लाख ४० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । उनी सो वृतमा जानुअघि अख्तियारमै कार्यरत थिए ।
‘चोखिन अख्तियार जान्छन्’
निजामती सेवामा कार्यरत कतिपय कर्मचारीमाथि भ्रष्टचारमा लिप्त भएर चोखिनका लागि अन्तिम समयमा अख्तियार जाने गरेको आरोप लाग्ने गरेको छ । ‘कमाइ हुने अड्डामा लामो समय बसेर अकुत सम्पति कमाएका अधिकृत, उपसचिव तथा सहसचिवको अन्तिम रोजाइ अख्तियार हुने गरेको छ,’ सरकारका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार अख्तियारमा कर्मचारी लैजाँदा हचुवाका आधारमा लैजानुभन्दा पनि उनीहरूको तीनपुस्ते विवरण हेरी इमानदार ठहर भए पछि मात्रै लैजान सके त्यस्तो समस्या आउँदैन । तर, अहिले पनि अख्तियारमा सोर्सफोर्स र भनसुनकै आधारमा कर्मचारी लैजाने प्रवृत्ति भएकाले अख्तियारमा नै बसेर सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य हुन सक्ने दाबी ती अधिकारले गरे । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ मंसिर २०७६, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर