अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु

विहीबार, २५ माघ २०७४, १६ : ४३

भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन शुरु गरेको छ ।

सूर्यविनायक, जगाती, चक्कुखोला सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य शुरु गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–चक्कुखोला सडकको केन्द्रबाट २५÷२५ मिटरसम्मको दायाँबायाँका अतिक्रमित संरचना हटाउने कार्य शुरु गरेका छौँ, सूर्यविनायक नगरपालिकातर्फका संरचना हटाएर सडक फराकिलो पारेकाले आजबाट भक्तपुर नगरपालिकातर्फको अतिक्रमित संरचना हटाउन थालेका हाँै ।”

सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सडक डिभिजन कार्यालयले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकासँगको समन्वयमा कार्यालय आफैले त्यस्ता संरचना हटाउने कार्य शुरु गरेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दाले सडक अतिक्रमण गरी टहरा निर्माण गर्ने, निर्माण सामग्री राखेर व्यापार गर्ने, पसल, वर्कसप, कारखाना बनाई व्यापार गर्न थालेपछि त्यस्ता संरचना हटाउन थालेको उहाँले बताउनुभयो ।

सडकमा स्थानीयवासीले निर्माण सामग्री, पुराना सवारी साधन पार्किङ, तरकारी खेती र नर्सरी राखेका छन् । अतिक्रमित संरचना हटाउने क्रममा सडक ऐन, २०३१ र जग्गा प्राप्ति ऐन, २०३४ जारी हुनुअघि निर्माण भएका पुराना घरलाई भने उचित क्षतिपूर्तिसहितको मुआब्जा दिएर सडक विस्तार आयोजना सञ्चालन गर्ने डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस