‘देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ’: मन्त्री खरेल

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, १५ : ०८
‘देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ’: मन्त्री खरेल

काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलका अनुसार, एमालेले स्पष्ट रूपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी गराए ।

‘सरकारको तर्फबाट सम्पूर्ण तयारी अघि बढाएको, निर्वाचनको वातावरण बनिरहेको परिप्रेक्ष्यमा नेकपा एमालेको तर्फबाट उहाँहरूले स्पष्ट भन्नुभएको छ– वातावरण बनाउनुस् हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा नेकपा एमालेको महासचिवको तर्फबाट स्पष्ट आएको छ,’ भेटपछि सञ्चार मन्त्री खरेलले भने ।

सरकारी पक्षबाट स्वतन्त्र तरिकाबाट चुनाव गराउने वातावरण सरकारले बनाउने जानकारी आफूहरूले गराएको उनले बताए । साथै, अब मुलुक चुनावमा होमिएको पनि उनले बताए ।

‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो, चुनावमा अघि बढ्यो,’ उनले भने ।

उनले चुनावमा भाग लिनेबारे एमालेले आज स्पष्ट रूपमा आफूहरूलाई जानकारी गराएको पनि बताएका छन् ।

‘तर सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट रूपमा खास गरी नेकपा एमालेबाट आएको छ । त्यसलाई सरकारले सकारात्मक रूपमा लिएको छ,’ खरेलले भने ।