प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०८२, ०७ : ४७
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य

काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले गरेको छुट्टै भेलाप्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरण हुने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले महाधिवेशन सकिए लगत्तै भएका केही गतिविधिले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन् । “हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो,” भन्दै उनले महाधिवेशनपछि केही नेताहरूले गरेको छुट्टै भेला अपेक्षित नभएको बताएका छन् ।

उनका अनुसार एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको मुख्य कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको उत्तर दिनु थियो । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनको भनाइ छ ।

महाधिवेशनअघि उठाइएका विषय बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ को बाटोमा हिँड्दा पार्टी अघि नबढ्ने उनको टिप्पणी छ । “तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्‍याएका छौं,” उनले लेखेका छन्, “तर लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा अझै बाँकी नै छ।”

उनले अब पार्टीको सम्पूर्ण ऊर्जा यिनै लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछिको आन्तरिक विवादले मुख्य राजनीतिक एजेन्डाबाट ध्यान विचलित हुन नहुने उनको भनाइ छ ।

त्यसैगरी, ज्ञवालीले पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति पनि आश्चर्य व्यक्त गरेका छन् । “पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,” उनले लेखेका छन्, “आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?”

प्रतिक्रिया दिनुहोस