दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?

अमेरिका र चीनका राजदूतहरु स्वदेश फर्किन लागेका छन्

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, ०८ : ४७
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?

काठमाडौं । नेपालका लागि अमेरिका र चीनका राजदूतहरु आ-आफनो देश फर्किदैछन् । एक अर्कासँग प्रतिस्पर्धी सम्वन्ध बनाएका यी दुई शक्ति राष्ट्रहरुको नेपाल सर्वाधिक चासो सूचीको देशमा पर्ने गरेको छ । 

संयोग पनि यस्तो मिलेको छ– दुवै देशका राजदूतहरु एकै समय पारेर आ आफनो देश फर्किदैछन् । नेपालका लागि चीनका राजदूत चेन सोङ आफनो तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका हुन् । अमेरिकी राजदूत डिन थम्पसन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा रहेका आफ्ना ३० राजदूतलाई फिर्ता बोलाउने सूचीमा परेर फिर्ता जान लागेका हुन् । 

चिनियाँ राजदूतको कार्यकाल भोलि बुधबारबाट सकिदैछ । त्यस अगाडी नै उनले नेपालका प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्टिय सभाका अध्यक्ष, कुटनीतिक क्षेत्रका ब्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेता लगायतसँग विदाई भेट गरिसकेका छन् । 

उनी कार्यकाल पूरा हुन केही दिन बाँकी छँदै महानिर्देशकमा बढुवा भएका थिए । बढुवा भएर कार्यकाल पनि सकेर फिर्ता हुन लागेका राजदूत चेन सोङले आफुले सम्हाल्दै आएको कार्यभार नयाँ काउन्सिलर चौ पानलाई सुम्पिएर बुधबार (भोली) नै बेइजिङ्ग फर्कन लागेका हुन् । 

चीनले अर्काे राजदूतको निर्णय नलिँदासम्म चौ पानले चीनको प्रतिनिधिका रुपमा काम गर्नेछन् । 

उता अमेरिकाले भने नेपालका लागि अमेरिकी राजदूत  डिन थम्पसनको कार्यकाल नसकिँदै फिर्ता बोलाएको हो । अमेरिकाले उनीसहित अन्य ३० मुलुकका राजदूतलाई पनि सामुहिक रुपमा फिर्ता बोलाएको छ । सन् २०२२ मार्चमा जो बाइडेन अमेरिकाको राष्ट्रपति हुँदा बाइडेन प्रशासनद्वारा नेपालका लागि अमेरिकी राजदूतमा थम्पसन नियुक्त भएका थिए ।

फिर्ताको सूचीमा नेपालसहित श्रीलंका, फिलिपिन्स, भियतनाम, इजिप्ट, नाइजेरिया, आर्मेनिया, ग्वाटेमाला लगायत अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा कार्यरत अमेरिकी राजदूतहरू रहेको एसोसिएटेड प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ। 

यद्यपि यो निर्णयबारे अमेरिकाले आधिकारिक रुपमा नेपाल सरकारलाई जानकारी भने गराईनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश नीतिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ प्राथमिकताहरूलाई पूर्ण रूपमा समर्थन गर्ने ट्रम्प कर्मचारीद्वारा प्रतिस्थापन गर्न ३० कूटनीतिज्ञलाई फिर्ता बोलाइएको हो।

थम्पसनसँग अमेरिकी कूटनीतिमा २८ वर्षभन्दा बढी अनुभव थियो । अमेरिकी प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य र व्यापक निर्णयका रूपमा हेरिएको छ । 

तर संयोग यस्तो परेको छ की नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकेर फिर्ता हुन लागेको र नयाँ राजदूतले जिम्मेवारी पाउने क्रममा रहँदा अमेरिकाले पनि नेपालसहितका राजदूत फिर्ता बोलाएको छ ।

अन्य देशका हकमा अमेरिकी राजदूत फिर्ता हुने विषयलाई फरक ढंगले हेरिएपनि नेपाल दुवै शक्ति राष्ट्रले सामारिक महत्वका देशका रुपमा लिएकोले पनि अब दुवै देशबाट आउने नयाँ राजदूतहरु कस्ता होलान् ? भन्ने चर्चा भने कुटनीतिक बृत्तमा सुरु भईसकेको छ । 

चीन नेपालको भूमि प्रयोग भएर आफनो देशविरुद्द कुनै अवान्छित गतिविधि हुन्छ की भन्नेमा निक्कै सचेत र चनाखो देखिन्छ भने अमेरिका चीनसँग जोडिएको नेपालबाट चीनलाई पनि नजिकबाट नियालिरहन चाहान्छ । जसकाकारण दुवै शक्ति राष्ट्रको नेपालप्रतिको चासो निक्कै गहिराईमा देखिने गरेको छ ।