धनगढी । नेकपा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रलाई परिवर्तन गर्न नसक्दा हात्ती छिर्यो पुच्छर अडयो भनेजस्तो भएको छ ।’
नेकपा अध्यक्ष दाहालले विभिन्न बहाना बनाएर कर्मचारीले कामै अगाडि बढ्न नदिने गरेको बताए। ‘गणतन्त्रपछि सुरुमा प्रधानमन्त्री भएको मैले नै कर्मचारीतन्त्र फेरबदल गर्न सकिनँ, अहिले त झन् जटिल भएको देख्छु,’ उनले भने, ‘पुरानै व्यवस्थामा काम गरेका मुख्य सचिव, सचिव र उपसचिव भएपछि कसरी काम हुनु?’
कर्मचारीले विभिन्न बहाना बनाएर नेताको ‘दिमाग खराब’ गर्ने गरेको उनको टिप्पणी थियो। कर्मचारीले जित्ने र नेताले हार्ने अवस्था आउन नहुने उनको भनाइ थियो। ‘हरेक राजनीतिक परिवर्तनलाई कर्मचारीतन्त्रले नै असफल पार्ने गरेको छ,’ उनले भने, ‘अहिले पनि पुरानै शैली र सोचका कर्मचारीकै कारण नेतृत्वलाई सोचेअनुरूपका काम गर्न असजिलो छ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धनगढी–गेटा औद्योगिक करिडोरको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले ५ वर्षभित्र सबै पालिकामा उद्योग ग्राम स्थापना गर्ने पनि बताए।
प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँचमा सुधार ल्याउने उपायको खोजी गर्न भन्दै वित्तीय सम्मेलनको आयोजना गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले वित्तीय सूचकांकमा पछाडि रहेको प्रदेशका लागि संघीय सरकारले गरेको राजस्व बाँडफाँट न्यायिक नरहेको बताए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले औद्योगिक क्षेत्रमा कर्जा प्रवाह न्यून रहेको औंल्याए। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सांसद रणबहादुर रावलले सुदूरपश्चिम स्रोतले समृद्ध हुँदाहुँदै पनि सरकारकै कारण २ वर्षको अवधिमा ठोस परिवर्तन हुन नसकेको टिप्पणी गरे। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ मंसिर २०७६, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’