काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
‘दाहाल कार्यकारी अध्यक्ष भएपछि सभापतिसँग एक्लै भेटेको पहिलो पटक हो,’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरूबीच शिष्टाचार भेट भयो, सामान्य कुराकानी भयो ।’ भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए । दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए ।
भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए । राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउनसमेत आग्रह गरेका थिए ।
भेटमा देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने तर सरकारले पनि विपक्षीलाई पेल्न नहुनेमा जोड दिएका थिए । केही समयअघि भारतीय पक्षबाट अतिक्रमणका परेको पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे दाहाल र देउवाबीच सार्वजनिक कार्यक्रममै जुहारी चलेको थियो । संवैधानिक आयोगहरूमा पदपूर्तिका लागि सरकारले ल्याउन लागेको अध्यादेशबारे पनि कांग्रेस असन्तुष्ट छ ।
देउवा र दाहालबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगहरूमा पदपूर्ति, विधेयक निर्माणलगायत विषयमा पनि छलफल भएको दाहाल निकट स्रोतले जनाएको छ । ‘संक्रमणकालीन न्याय निरूपण ढिलो हुनुहुन्न भन्नेमा दुवैको जोड छ,’ दाहाल निकट नेकपाका एक नेताले भने, ‘छिटो गरेर टुंगो लगाऔं भन्नेमा उहाँहरू सहमत हुनुभयो ।’
यस्तै संक्रमणकालीन न्याय निरूपणसम्बन्धी ऐन बनाउने विषयमा दुई दलबीच सहमति भएर पीडितबाट रायसुझाव संकलनका लागि सातै प्रदेशमा जाने निर्णय भएको थियो । ‘यसअघि पार्टीको अध्यक्ष मात्रै र द्वन्द्वकालीन मुद्दामा उस्तैउस्तै स्थितिमा भएको नेताका हैसियतमा उहाँहरूबीच छलफल हुन्थ्यो,’ ती नेताले भने, ‘बिहीबार भने कार्यकारी भूमिकासहितको अध्यक्षका हैसियतमा भेट भयो ।’ उनका अनुसार दाहाल आफैंले फोन गरेर देउवालाई भेट्न पुगेका थिए । उनीहरूबीच बिहान करिब आधा घण्टा छलफल भयो । बुधबार सचिवालय बैठक राखेर चुनावी समीक्षाका लागि तल्लो तहमा सर्कुलर पठाउने निर्णय गरेलगत्तै दाहाल फ्रेस हुन भन्दै परिवारसहित भक्तपुरको एक रिसोर्टमा पुगेका थिए । बिहीबार बिहान त्यहाँबाट फर्किएपछि उनी देउवालाई भेट्न गएका हुन् । त्यसलगत्तै दाहाल धनगढी पुगे ।
दाहाल कार्यकारी अध्यक्षको भूमिकामा आएपछि उनले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्रता दिएका छन् । पार्टी जिम्मेवारीमा दुई अध्यक्षको स्पष्ट कार्यविभाजन नहुँदा काम गर्न नपाएको गुनासो गर्दै आएका दाहालले जिम्मेवारी बाँडफाँटपछि आफूलाई काम गर्न सजिलो भएको बताएका छन् । कार्यविभाजनसँगै दाहालसँग पार्टीको आन्तरिक विषयमा छलफल गर्न चाहने नेता–कार्यकर्ताको संख्या बढेको दाहाल निकटस्थहरूको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० मंसिर २०७६, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’