‘गीत मन नपरे कान थुन्ने हो, गायक थुन्ने होइन’

आइतबार, १० कार्तिक २०७६, ०९ : २५
‘गीत मन नपरे कान थुन्ने हो, गायक थुन्ने होइन’

प्रेस युनियन काठमाडौँ, शाखाद्वारा आयोजित शुभकाना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले व्यक्त गरेका​ धारणा

मैले मुलुकभरका विभिन्न कार्यक्रममा जाँदा अझै पनि नेपाली काँग्रेस अलमलमा रहेको महासुस गरेको छु । गत निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोर्यो । त्यसपछिको अलमलबाट बाहिर निस्कन सकेको पाइएको छ ।

जीवन्त र प्रतिस्पर्धामा विश्वास गर्ने पार्टीका निम्ती निर्वाचनमा जय–पराजय महत्वपूर्ण विषय हो नै । तर सधै त्यो कुरा रहिरहनु हुँदैन । नेपाली काँग्रेसले एउटा मिसनसँग आफूलाई बाध्यो भने सफलता हात पार्छ । हाम्रो विगतले पनि त्यही कुरा देखाउँछ । हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर आउँछु भन्ने मिसन समात्दै गर्दा होस् वा सुशील कोइरालाको नेतृत्वमा जसरी पनि संविधान बनाउँछु भनेर मिसन समात्दै गर्दा होस् ।

यसमा नेपाली काँग्रेसलाई मान्नै पर्छ । फेरि नेपाली काँग्रेसले अर्को मिसन समात्नु पर्ने अवस्थाको सिर्जना भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा पटक–पटक आन्दोलन भयो । प्रत्येक आन्दोलन सफलता पूर्वक सम्पन्न पनि भयो । तर हामीले आन्दोलनका उपलब्धी कहिले पनि जोगाउन सकेनौँ ।

यसको कारण भनेको तत्कालीन समयमा नेपालको राजसंस्थासँग भएको समजदारी नै हो । हामीसँग गरेको समजदारी उसले बेलाबखत कुल्चिँदै गयो । अनि हामीले राजसंस्थालाई नै निषेध गरिसकेपछि उपलब्धीहरु आफै सुनिश्चत हुन्छ भन्ने ठान्यौँ । आजको दिनमा राजसंस्थासँगको डरबाट त हामीले हाम्रो व्यवस्थालाई मुक्त गर्यौँ । साथै नेपालमा कम्युनिस्ट पार्टीहरुको लोकतान्त्रिकरणको एउटा चरण पनि पुरा गर्यौँ ।

अहिले नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाइ रहेको छ । सरकार चलाउने कुरामा हाम्रो कुनै समस्या होइन । तर कम्युनिस्ट पार्टी सरकार सञ्चालनका नाममा कम्युनिस्ट सत्ता निर्माण गर्दैछ । हामीले कल्पना गरेको व्यवस्थामा आवाधिक निर्वाचनबाट सरकार बन्छ, सत्ता बन्दैन ।  हामी दुई तिहाइ भन्छौँ । सरकार दुई तिहाइको होइन, तीन चौथाइ कै बन्न सक्छ । फेरि पनि नेपाल कम्युनिस्ट पार्टी कै सरकार बन्न सक्ला । हाम्रो प्रयास काँग्रेसको सरकार बनाउने हुन्छ । आगामी निर्वाचनमा हामी तीन चौथाई भोट ल्याउन चाहन्छौँ । समस्या सरकारको होइन् ।

सरकारको आवरणमा सत्ता निर्माण गर्ने जुन प्रयास हुँदैछ समस्यको विषय यो हो । नागरिकको स्वतन्त्रता हरण गर्नका निम्ति चरणबद्धरुपमा जुन खालको कानुन निर्माणको प्रयास भइरहेको छ । यतिबेला त्यो प्रयास नै सबैभन्दा समस्याको विषय बनेको छ । गायक पशुपति शर्माबाट सरकारले आफूसँग असहमति राख्ने गीतसंगीतमाथि धावा बोल्ने सुरु गरेको थियो । अहिले फेरि अन्य गायकका कुरा बाहिर आइरहेको छ । हामी हेरिरहेका छौँ ।

त्यो गायकको कुरा होइन् । कसैलाई गीत सुन्न मन लागेन भने कान थुन्ने हो, गाउने मान्छे थुन्ने होइन । कविता सुन्न मन लागेन कान थुन्ने हो, कविलाई थुन्ने होइन । कसैलाई उहाँहरुको (र्यापर भिटेन र गायक दुर्गेश थापा) गीत मन परेन ल ठीक छ । भद्दा, अश्लील भनेर यत्रो बहस गरिरहेका छौँ । यस्तो गीत किन गाउनुपर्यो भन्ने पनि छ ।

विषय यो होइन । यो विषयलाई संसदमा दर्ता भएको सूचना प्रविधि कानुनसँग जोडेर हेरौँ । मंसिरबाट सुरु हुने संसद अधिवेशनबाट जुन कानुन यो सरकारले जबरजस्ती पारित गर्नका निम्ति सम्पूर्ण शक्ति लगाउने छ । सामाजिक सञ्जालमा लेखिएका कुरालाई आधार मानेर घरघरमा गएर मान्छेलाई पक्रनका लागि कानुन निर्माण गरिँदैछ । मिडियाका साथीहरु मिडिया काउन्सिल विधेयकबाट प्रेस स्वतन्त्रता हनन हँुदैछ भनेर आन्दोलित हुनुभयो । अब त्यो विधेयक सच्चिएर आउँछ । तर तपाईँले आफ्नो सामाजिक सञ्जालमा लेखिएको कुराबाट तपाईँको घाँटी समाउन सरकार गृहकार्य गरिरहेको छ । यसमा कसैलाई छोड्नेवाला छैन ।

आफै अदालत बनाउँछ, जनअदालत जस्तो । आफ्नै प्रशासनबाट मुद्दा लड्न पाउने गरी कानुन बनाउँदै छ । आजको मुख्य समस्या भनेको ‘रुल अफ ल’ र ‘रुल बाइ ल’को विषय हो । ‘रुल अफ ल’मा विधिको शासनका रुपमा संविधान छ, संसद हुन्छ । बहुमत आउनेले नै सरकार चलाउने हो । भोलि पनि सरकार चलाउँदा बहुमत हुन्छ । सरकारले बहुमतबाट कानुन बनाउँदै गर्दा संविधानमा रहेका मुलभूत मान्यताबाट कानुन बनाउँदैन । तर ‘रुल बाइ ल’ भनेको संख्याको प्रयोग गरेर कानुन बनाउँदै गर्दा कानुनको विधिको शासन गर्ने वा विधिमार्फत शासन गर्ने कुराका सन्दर्भमा हेर्नुपर्छ । ‘रुल बाइ ल’ भनेको विधिमार्फत शासन गर्ने हो, कानुनबाट विधिको शासन गर्ने कुरा होइन ।

सरकारले एकपछि अर्को गरी संख्याको प्रयोग गरेर संविधानका आधारभूत मान्यताको खिलाफमा कानुन बनाउने काम भएको छ । सरकारसँग दुईतिहाइको ताकत हुनु नराम्रो होइन । यो ताकत उसले नेपालभित्र वर्षौदेखि जगल्टिएका समस्या समाधानको हल गर्न प्रयोग गर्नु पर्ने हो ।

हाम्रो जनजीविकाको सवालमा चाडोभन्दा चाडो परिणाम दिनतर्फ प्रयोग गर्नु पर्ने हो । तर सरकार यी कुनै कुरामा दुई तिहाइको ताकत प्रयोग गर्न खोजि रहेको छैन ।

बरु विस्तारै विस्तारै हाम्रो जनजीविका नै बन्धक हुने गरी संसदबाट कानुन निर्माण गर्नेतिर लागेको छ । त्यसबाट निर्माण गर्ने भनेको सत्ता हो । संसदको सभामुखका विषयमा अहिले उहाँहरुको घर झगडाको कुरा छ । उपसभामुखलाई राजीनामा गराएर हुन्छ वा के गराएर हुन्छ, सभामुख नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बनाउने कुरा छोड्नेवाला छैन । किनभने संसदको आदेश सरकारले टेर्ने होइन, सरकारले आदेश दिएर संसद आफ्नो नियन्त्रणमा राख्ने कुरातरि सरकार लागेको छ । अदालतसँग सरकार डराउनु पर्ने ठाउँमा सरकारसँग अदालत थुरथुर भएर बसेको अवस्था छ । सरकार कोहीसँग डराएको छ भने नागरिकसँग डराएको छ । त्यही भएर नागरिकलाई सूचना प्रविधिसम्बन्धी कानुन बनाएर तर्साउँदै छ ।

अड्डा आफ्नो, अदालत आफ्नो, प्रहरी आफ्नो, सेना आफ्नो र सबैतिर आफ्नो बनाएर लेख्ने प्रेसको निब र बोल्ने नागरिकको मुख नियन्त्रण गरिसकेपछि सत्ता निर्माण हुने हो । जसको खिलाफमा कसैले बोल्न पाउँदैन । र, यो सब कुरा कानुन बनाएर गर्न प्रयास हुँदैछ ।

त्यसैले यतिबेला यो संविधान, यसले ल्याएको व्यवस्था, हाम्रो स्वतन्त्रता जसका लागि यो पार्टी बन्यो त्यसलाई जोगाउने कुरा काँग्रेसको मिसन हो । यो मिसनमा काँग्रेस अगाडि बढ्यो भने नागरिक पनि जोडिँदै आउँछन् । र, परिणाम काँग्रेसले आफै प्राप्त गर्छ । यतिबेला काँग्रेसको कर्म भनेको यही हो । नेपाली नागरिकको स्वतन्त्रतालाई जगाउने कुरा र हाम्रो संविधानले व्यवस्था गरेका मुल्यमान्यतालाई रक्षा गर्ने कुराका निम्ति नेपाली काँग्रेसले लड्नुपर्ने छ ।

यसका लागि लड्ने ताकत यी सबै चाड पर्वले, हाम्रो आफ्नो प्रथनाले उपलब्ध गराओस् । हामी केही प्रेसमा छौँ, कोही पार्टीमा काम गरिरहेका छौँ, जो जहाँ भएपनि एउटै परिवारसँग बाधिएकाहरुले आ–आफ्नो भूमिका निर्भाह गर्न ताकत र क्षमता यी चाड पर्वबाट दिओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस