काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने संयुक्त सूचना प्रकाशित गरेका छन् ।
सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक आवागमन बन्द हुनेछ ।
सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिने छन्। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिने छन् । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
रोकिएका सबै सवारीसाधनलाई दिउँसो साढे ३ बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।
निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।
त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध
सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'